गौतमबुद्ध विमानस्थलमार्फत क्षेत्रीय पर्यटन केन्द्र विकासको लक्ष्य, गलोपाको घोषणा

खबर नागरिक

भैरहवा । आर्थिक रूपान्तरण र रोजगारी सिर्जनालाई मुख्य लक्ष्य बनाउँदै नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले आफ्नो पहिलो अवधारणापत्र सार्वजनिक गरेको छ। बिहीबार भैरहवामा आयोजित कार्यक्रममा पार्टीले पर्यटन प्रवर्द्धन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलाई देशको समृद्धिको आधारस्तम्भका रूपमा प्रस्तुत गरेको हो।

कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्राध्यापक डॉ. दिनेश प्रसाईं, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, लगानी बोर्डका पूर्वसीईओ राधेश पन्त र पर्यटन विज्ञ ज्ञानेश्वर महतोले आ–आफ्ना धारणा राखे। उनीहरूले विमानस्थल सञ्चालनमार्फत भैरहवा र आसपासका क्षेत्रलाई क्षेत्रीय पर्यटन केन्द्रका रूपमा विकसित गर्न सकिने सम्भावना औंल्याए।

अध्यक्ष प्रसाईंले परम्परागत राजनीतिक दलहरूले समयअनुसारको रूपान्तरण गर्न नसक्दा समाजमा असन्तोष फैलिएको भन्दै गलोपाले “आर्थिक रूपान्तरण र सुशासन”लाई मुख्य एजेण्डा बनाएको स्पष्ट पारे। बस्नेतले विमानस्थलबाट वाइडबडी जहाज सञ्चालन सम्भव भएको बताउँदै आवश्यक परे आफ्नै जहाज खरिद गरेर पनि विमानस्थललाई सक्रिय बनाउन सकिने बताए।

पूर्वसीईओ पन्तले पर्यटनलाई रोजगारी वृद्धि र आर्थिक समृद्धिको प्रमुख खम्बा भएको उल्लेख गर्दै कृषि, शिक्षा र सूचना प्रविधिको विकासमार्फत देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा प्रस्तुत गरे। पार्टीले निकट भविष्यमा जनकपुर र सुर्खेतमा विषयगत छलफल कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ।


प्रतिक्रिया