भैरहवा । नेपाल–कतार सरकारबीचको सम्झौताअनुसार उपहारस्वरूप पठाउन लागिएको खगेन्द्र प्रसाद (भाले) र रुद्रकली (पोथी) हात्ती मंगलाबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थल आएको छ ।
सोमबार मध्यान्ह चितवनको सौराहाबाट बिदाई भई छुट्टाछुट्टै निर्माण गरिएका फलामका पिजडा सहित ट्रकमा आएको हात्तीको जोडी आज बुधबार बोइङ ७७७ चार्टड कार्गो विमानबाट कतार जानेछ । बिहान साढे ७ बजे पिजडामा आएको हात्ती क्रेनको सहायताले विमानस्थल परिसरमा राखिएको छ ।विमानस्थलबाट कतार पठाउने तयारी छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहका अनुसार हात्तीलाई विमानस्थलभित्र सुरक्षित स्थानमा राखिएको र बुधबार दिउँसो भैरहवाबाट पौने ४ बजे कतारका लागि कतार एयरवेजको कार्गो चार्टड विमानबाट पठाइने जानकारी दिए । हात्ती भैरहवा ल्याउन र यहाँबाट पठाउन आवश्यक तयारी प्रकृति संरक्षण कोषले गरिरहेको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ मा कतार भ्रमणमा गएकै बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । पछि वैशाख २०८१ मा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने सहमति भएको थियो । ‘कन्जर्भेसन कूटनीति’ लाई जोड दिँदै नेपालले कतारलाई हात्ती उपहार दिएको हो ।
१५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरकी छ भने १६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको भएको छ । हात्ती जन्मेको साढे दुईदेखि तीन वर्षपछि खोरसोर प्रजनन केन्द्रमा तालिम दिने गरिन्छ । यी दुवै हात्तीले यही तालिम लिएका हुन् । रुद्रकली निकुञ्जको हात्ती पुजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीको सन्तान हो । दुवैका पिता भने जङ्गली भाले हात्ती हुन् ।
हात्ती कतारको चिडियाखानामा निर्माण गरिएको एसीसहितका घरमा बस्ने व्यवस्था मिलाइएको छ । उपहारस्वरूप पठाइने यी हात्तीको सम्पूर्ण खर्च कतार सरकारले व्यहोर्नेछ । रुद्रकली र खगेन्द्रप्रसादलाई कतार छोड्न यसका माहुतेद्वय बुद्धिलाल र पाँचु खाँ थारूसँगै चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि कतार जाँदै छन् । माउते र प्राविधिक एक महिनाका लागि कतारमा रहने छन् । उनीहरुले कतार चिडियाखानामा अबदेखि हात्ती स्याहार्ने माउतेलाई हात्तीको सबै आनीबानी सिकाएर फर्किने छन् ।
कतारको तापक्रम सामान्यतया ४५ डिग्री भन्दा माथि रहन्छ । हाल हात्ती हुर्कँदै गरेको चितवन निकुञ्जको मौसम सरहकै तापक्रममा त्यहा राख्ने व्यवस्था मिलाइएको छ । कतारको चिडियाखानामा हात्तीलाई खुवाउने घाँस भारत वा नेपालबाट जहाजमा लैजाने व्यवस्था पनि कतार सरकारले मिलाएको छ । हात्तीलाई कतारको अलखोर जुमा राखिनेछ ।
२२ वर्षदेखि माहुते पेसामा संलग्न ४४ वर्षीय बुद्धिलालले रुद्रकलीलाई ४ वर्षदेखि स्याहार्दै आएका हुन् । नौ वर्षअघि चितवन आएका पर्साका पाँचु पनि चार वर्षदेखि खगेन्द्रप्रसादको माहुते छन् ।
हात्ती ओसारपसार गर्दा दुर्लभ तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को प्रावधान र प्रक्रिया आकर्षित भए पनि यी दुई हात्ती घरपालुवा हात्ती हुन् । हात्ती साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति हो । लोप हुने अवस्थामा पुगेका प्रजातिहरू यसमा समावेश छन् । यस सूचीमा रहेका जीव÷जनावर, वनस्पतिको व्यापार नियन्त्रण गरिएको छ । तर अनुसन्धान, शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनका लागि ओसारपसार गर्न सकिन्छ । तर सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिसमा मात्र यो काम गर्न पाइने व्यवस्था छ ।