काठमाडौं । आज देशभर ४४औँ मगर एकता दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। मगर समुदायले आफ्नो जातीय पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षणका लागि एकजुट भएको ऐतिहासिक दिनको स्मरण गर्दै फागुन १५ गते यो दिवस मनाउने परम्परा कायम राख्दै आएका छन्।
वि।सं। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा मगर समुदायले हरेक वर्ष एकता दिवस मनाउँदै आएको हो। सम्मेलनले देशभर छरिएर रहेका मगरहरुलाई संगठित बनाउने आधार तयार पारेको मानिन्छ।
मगर बाहुल्य जिल्लाहरुमा सांस्कृतिक झाँकी, र्याली, शुभकामना आदानप्रदान तथा मौलिक भेषभूषा प्रदर्शनजस्ता कार्यक्रम आयोजना गरिएका छन्। समुदायका अगुवाहरूले यो दिवसलाई सांस्कृतिक पुनर्जागरण र पहिचान सुदृढीकरणको अवसरका रूपमा लिने गरेका छन्।
यस अवसरमा मगर समुदायले राज्यसँग सार्वजनिक बिदाको मागसमेत दोहोर्याएको छ। नेपाल मगर संघका अनुसार यस वर्ष देशका ४३ स्थानीय तहले मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन्।
केन्द्रीय तथ्यांक विभाग द्वारा सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा मगर समुदायको जनसंख्या ६।९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ। जनसंख्याका आधारमा मगर समुदाय देशका प्रमुख आदिवासी जनजातिमध्ये एक मानिन्छ।
एकता दिवसले मगर समुदायलाई आफ्नो ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामूहिक पहिचानबारे पुनः स्मरण गराउँदै भविष्यका लागि थप सशक्त ढंगले अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ।
February 27, 2026