भैरहवा । आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न रुपन्देहीसँग जोडिएका भारततर्फका सबै सीमानाका सोमबार रातीदेखि अस्थायी रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देही ले सूचना जारी गर्दै फागुन १८ गतेदेखि २१ गते मतदान सम्पन्न नहुँदासम्म आवतजावतमा कडाइ गरिने जनाएको छ।
कार्यालयका अनुसार सीमा क्षेत्रमा अनावश्यक आवागमन रोक्दै शान्ति सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको हो। निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाइने र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिने जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले जारी गर्नुभएको सूचनामा एम्बुलेन्स, दुधका ट्यांकर, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवासँग सम्बन्धित सवारीसाधनजस्ता अत्यावश्यक र पूर्वअनुमति प्राप्त साधनबाहेक अन्य सबै सवारीसाधनको आवतजावत रोक लगाइने उल्लेख छ। अत्यावश्यक सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले ती सवारीलाई भने सहजीकरण गरिने बताइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सहयोग गर्न आग्रह गरेको छ। साथै, सीमा नाका बन्द अवधिमा अनावश्यक यात्रा नगर्न र प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणसँग अपिल गरिएको छ।