बोधी इन्टरनेशनलको दोस्रो वार्षिकोत्सव : प्रविधिमैत्री शिक्षा र संस्कारमा जोड

खबर नागरिक

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, लुम्बिनी बजारस्थित बोधी इन्टरनेशनल स्कूलको दोस्रो वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिबार विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। हाम्रो विद्यालय, हाम्रो गौरवः शान्त र सभ्य समाजको वैभवू भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल उपेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले ब्यानर अनावरण तथा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि हरिजनले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो र नगरपालिकाले शिक्षा प्रवर्द्धनमा सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथिका रूपमा चीनबाट आएका मास्टर सान्दावाेगी, भिक्षु मैत्री महास्वामी,  भन्ते सुमंगलोको उपस्थिति रहेकाे थियो।

समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विशेष गरी साना विद्यार्थीहरूद्वारा प्रस्तुत “म मोबाइल होइन, म छोरी हुँ” शीर्षकको नाटकले उपस्थित सबैको ध्यान खिचेको थियो। आधुनिक समयमा बालबालिकामा बढ्दो मोबाइल लतका विरुद्ध यस नाटकले गम्भीर सामाजिक सन्देश प्रवाह गरेको थियो।

वेबसाइट र मोबाइल एप सार्वजनिक

विद्यालयले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै आधिकारिक वेबसाइट  र मोबाइल एप सार्वजनिक गरेको छ। अब अभिभावकहरूले विद्यालयका गतिविधि, सूचना र विद्यार्थीको प्रगति विवरण एपमार्फत नै हेर्न सक्नेछन्। यो प्रणाली आगामी वैशाखदेखि पूर्ण रूपमा लागू हुने विद्यालय प्रशासनले जनाएको छ।

पश्चिमाञ्चल इंग्लिश हाई स्कूलका प्रिन्सिपल राजु ढकालले बोधी स्कूलले अपनाएको प्रविधिमैत्री शिक्षण प्रणाली र शिक्षकहरूको क्षमता विकासको प्रयास धेरै ठूला विद्यालयका लागि समेत अनुकरणीय रहेको बताउनुभयो।

प्रिन्सिपल उपेन्द्र अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ४ सञ्चालन गर्ने र कक्षा ५ का लागि अनुमति प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो। उनले विद्यालयमा क्रिकेट र बास्केटबल कोर्ट निर्माण, स्मार्ट बोर्ड र एसी जडान गरिएका आधुनिक कक्षाकोठाहरू, विद्यार्थीका लागि ध्यान र ‘ह्याप्पी करिकुलम’ को सुरुवात लगायतका  याेजना समेत प्रस्तुत गरे । 

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा रेखा कुमारी कसौधन, भावना राई, हरिमाया राना मगर, रामी सुनार , शोभा भुवाल, सविता गुप्ता र सुरज हरिजन हुनुहुन्छ। साथै, प्रि–प्राइमरी तह पूरा गरेका २० जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो भने विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।

शिक्षिका रेखा कुमारी कसौधनको स्वागत मन्तव्य र सुजिता खत्रीको उद्घोषणमा सम्पन्न कार्यक्रममा होटल एसोसिएसनका अध्यक्ष लिलामणि शर्मा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया