भैरहवा स्थित नेपाल नालन्दा माविले मनायो ३० औ वार्षिक उत्सव

खबर नागरिक

भैरहवा । नेपाल नालन्दा माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. ९मा अवस्थित उक्त विद्यालयले ७ गते बिहीबार विशेष कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो। विद्यालयले कक्षा १२ सम्म अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यसका अतिरिक्त विद्यालयका समर्पित शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक युवराज पोख्रेलले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिँदै आएको बताए। उनले विद्यालयले पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र नभई व्यवहारिक, नैतिक तथा अनुशासित शिक्षालाई प्राथमिकता दिएको उल्लेख गरे।

विद्यालयले आधुनिक प्रविधियुक्त कक्षा कोठा, अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सहपाठ्य कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिँदै आएको जनाएको छ। शैक्षिक उपलब्धिसँगै अनुशासन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबोध अभिवृद्धिमा समेत विद्यालयले जोड दिँदै आएको छ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। नृत्य, गीत, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो।

अभिभावक तथा अतिथिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास गरिएको छ।

प्रतिक्रिया