राष्ट्र बैंकको चालु कर्जा पुँजी लगानीका कारण अर्थतन्त्र संकटमा

खबर नागरिक

भैरहवा। नेपाल राष्ट्र बैंक  सिद्धार्थनगर कार्यालयले  भैरहवामा  लुम्बिनी प्रदेशमा चालू पुँजी कर्जाको प्रभावकारीता विषयमा सरोकारवाला संग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योग व्यवसायीका प्रतिनिधि, चालू पूजी कर्जा उपभोग गरेका व्यवसायी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी तथा लेखापरिक्षकहरुको सहभागिता रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले चालु कर्जा पुँजी लगानी मार्गदर्शनमा व्यवसायीहरु गुनासहरुका विषयमा छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको बताउनुभयो । उहाँले चालु कर्जा पुँजी लगानीको उपभोग र  थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । छलफलले नेपाल राष्ट्र बैंकलाई नीतिगत कार्यमा समेत सहयोग पुराउने निर्देशक आचार्यको भनाई रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले चालू पुँजी कर्जालाई लचिलो बनाउनुपर्ने भन्दै व्यवसायीहरुको पक्षमा नीतिगत निणर्य गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुको नीतिगत अस्पष्टताका कारण ठुला उद्योग व्यवसायीहरु, पर्यटन तथा  होटल र उत्पादनक्षेत्रका उद्योगहरुले सहज कर्जा प्राप्त नगर्दा अर्थतन्त्र सुस्ताउदै गएको बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी व्यवसायीहरुलाई सहज कर्जा प्रभाव गरि आर्थिक समृद्धिका राष्ट्र बैंकले भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माले सुझाव दिनुभयो ।  

सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा लगानीमा कडाई गर्दा उद्योगी व्यवसाय धरापमा परेको भन्दै यसलाई सरल बनाउनुपर्ने बताउनुभयो । उहाँले देशले खोजेको र उद्योगी व्यवसायीको पक्षमा सकारात्मक सहयोग पुग्ने प्रकारले चालु कर्जा पुँजी लगानी मार्गदर्शनलाई संशोधन गर्न सुझाव दिनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा युवा व्यवसायी ठाकुर कुमार श्रेष्ठले नेपालको अर्थतन्त्र शिथिल बताउनमा नेपाल राष्ट्र बैंकको चालु कर्जा पुँजी लगानी मार्गदर्शनले अवरोध गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकको कर्जा प्रवाहमा जटिलता हुदा देशमा अहिले १ लाख ५० हजार भन्दा बढि उद्योगी, व्यवसायी कालुसुचीमा परेको पूर्व अध्यक्ष श्रेष्ठको गुनासो रहेको छ । उहाँले चालु कर्जा पुँजी लगानी मार्गदर्शनलाई व्यापक रुपमा संशोधन गर्नुपर्ने भन्दै यसैका कारण धेरै उद्योगी व्यवसायी डिप्रेशनमा पुगेको बताउनुभयो । चालु कर्जा पुँजी लगानी मार्गदर्शन हाम्रो माटो सुहादो हुनुपर्नछ । श्रेष्ठले भन्नुभयो, “नेपाल राष्ट्र बैंक कर्जा प्रवाह सम्बन्धी परिभाषालाई बैंकहरुले आफु अनुकुल फरक–फरक व्याख्या गर्दा उद्योगी व्यवासायीलाई समस्या परेका छन् ।” बैंकहरुले उद्योगी व्यवसायीलाई फकाई–फकाई कर्जा प्रदान गर्ने र पछि विभिन्न वहाना बनाएर तनाव दिने प्रवृद्धी नेपालमा रहेको भन्दै यसका अन्त्य हुनुपर्ने माग पूर्व अध्यक्ष श्रेष्ठको माग रहेको छ ।

नेपालमा पछिल्लो समय चालु कर्जा पुँजी लगानी मार्गदर्शनका कारण देशमा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेपछि उद्योगी व्यवसायी तथा अर्थविदहरुले विरोध जनाउदै आएका छन् । यसको संशोधन र लगानी मैत्री हुनुपर्नेमा सवै पक्षको जोड रहेको छ ।

प्रतिक्रिया