जसपाका युवा नेता अग्रहरीको नेतृत्वमा सय बढी युवा रास्वपा प्रवेश

खबर नागरिक

भैरहवा । रुपन्देहीको राजनीतिमा नयाँ तरंग पैदा गर्दै जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध विद्यार्थी संगठनका केन्द्रीय सह–महासचिव उमेश अग्रहरीको नेतृत्वमा १२५ जना जेन–जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन । शनिवार भैरहवामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूलाई रास्वपामा स्वागत गरिएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका नेता तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले वर्तमान शासकहरूको कार्यशैलीप्रति कडा टिप्पणी गरे । उनले इतिहासको प्रसङ्ग जोड्दै भनेः“जहाँ शक्ति हुन्छ, त्यहाँ घमण्ड पलाउँछ र त्यसले सत्यको उपहास गर्न थाल्छ । इतिहास साक्षी छ सत्ता र शक्तिको घमण्डले अन्ततः पतन नै निम्त्याउँछ । आजका शासकहरूका लागि इतिहासका यस्ता घटना एउटा गम्भीर चेतावनी हुन ।’’

डा. थापाले नेपालको राजनीतिमा शक्तिमा पुगेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे । उनले परिवर्तन सधैँ नाराबाट मात्र नभई ’चिसो हावा’ जस्तै शान्त तर आँधी जस्तै ’निर्णायक’ भएर आउने तर्क राखे ।

जेन–जी पुस्ताका युवाहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवारहरू ज्ञानु पौडेल, पुनम अग्रवाल, अमृता बिक, श्रद्धा कुवर लगायतले जसपाका प्रभावशाली युवा नेता उमेश अग्रहरीको नेतृत्वमा ठूलो संख्यामा युवा पलायन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको बताए । उनीहरुले नयाँ पुस्ताको आगमनले पार्टीलाई थप उर्जा मिलेको बताए । 

निर्वाचन नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा रास्वपाले आफ्नो संगठन विस्तारलाई तीव्र पारेको छ । डा. थापाले जनताको विवेक सधैँ भारी हुने भन्दै आगामी निर्वाचनमा जनताले नै सही र गलतको न्याय गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया