भरतपुरका लागि उडान भर्ने विमानहरूले अब अतिरिक्त इन्धन बोक्नुपर्ने बाध्यता हट्नेछ । ६ फागुनदेखि भरतपुर विमानस्थलमै आयल निगमले हवाइ इन्धन भर्नेगरी सेवा दिने भएपछि भरतपुर जाने विमानले अब पुरै सिट भरेर जान मिल्ने भएकाे हाे । भरतपुर विमानस्थलमै आयल निगमले हवाइ इन्धन भर्नेगरी सेवा दिने भएपछि याे सुविधा थपिएकाे छ ।
चितवनको भरतपुरका लागि उडान भर्ने विमानहरूले अहिले सम्म भरतपुर जाने विमानहरूले सिट खाली राखेर अतिरिक्त इन्धन बोक्नुपर्ने बाध्यता थियाे । आयल निगमकाे याे याेजनाले सिट खाली राख्नु पर्ने बाध्यता हट्ने भएको हो । भरतपुर विमानस्थलमा हवाइ इन्धन भर्ने व्यवस्था नहुँदा त्यहाँ जाने विमानले अतिरिक्त इन्धन बोक्नु पर्ने हुँदा ४–६ सिट खाली राख्ने गर्थे ।
हवाइ इन्धन कार्यालय स्थापना गर्न भरतपुर नागरिक उड्डयन कार्यालय र नेपाल आयल निगम लिमिटेडबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
‘भरतपुरमा हवाइ इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाटै दुईतर्फी उडान इन्धन बोकेर जानु पर्थो । भरतपुरमा हवाइ इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाट धेरै तेल बोक्नुपर्ने हुँदा प्रत्येक उडानमा ४ देखि ६ सिटसम्म खाली राखेर तौल व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो,’ नेपाल आयल निगमका उपनिर्देशक प्रदिपकुमार यादवले भने, ‘हवाइ इन्धनकै कारण सिट खाली राख्नुपर्ने बाध्यता हट्नेछ ।’
१९ माघमा बसेको निगम सञ्चालक समिति बैठकले भरतपुर बिमानस्थलबाट हवाइ इन्धन सेवा सुरु गर्न स्वीकृति दिएको थियो । २० माघमै निगम व्यवस्थापनले भरतपुर विमानस्थलमा हवाइ इन्धन सेवा सुरु गर्ने निर्णय गरेर कार्यालय राखेर सेवा सुरु गर्न निर्देशन भइसकेको छ । नेपाल आयल निगमका निर्देशक ई. विनितमणि उपाध्यायका अनुसार डिपो स्टेसन स्थापनाको लागि २ थान रिफ्युलर र १ थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ ।
निर्वाचन आचारसंहिताका कारण निगमले भरतपुर विमानस्थलमा दरबन्दी सृजना गरेर कर्मचारी खटाउन अप्ठयारो भएकाले हवाइ इन्धन कार्यालय, सिनामंगलका केही कर्मचारी भरतपुरमा खटाएर सेवा सुरु गर्न लागिएको हो । ‘तत्काललाई सिनामंगलस्थित हवाइ इन्धन कार्यालयबाट कर्मचारीहरू खटिएर सेवा सुरु हुन्छ, चुनावपछि दरबन्दीअनुसार कर्मचारी खटाइनेछ,’ उनले भने, ‘भारतपुर विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणकै भवन भाडामा लिएर कार्यालय राख्ने सहमति भएको छ ।’