मुनलाइट सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत

खबर नागरिक

भैरहवा। मुनलाइट सेकेण्डरी बोर्डिङ स्कुलमा कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागतार्थ विशेष कार्यक्रम आयोजना गरिएको थियाे। कक्षा १२ का विद्यार्थीहरूको सक्रिय आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नृत्य, गीत, कविता तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूले माहोल उल्लासमय बनेको थियो। कक्षा १२ का विद्यार्थीहरूले आफ्ना भाइबहिनीहरूलाई विद्यालय जीवनमा सहज र आत्मीय वातावरण महसुस गराउने उद्देश्यले कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य टिकाराम भट्टराईले कक्षा ११ का विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले कक्षा १२ का विद्यार्थीहरूले देखाएको नेतृत्व क्षमता, जिम्मेवारी र सहकार्यको खुलेर प्रशंसा गर्नुभयो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूबीच भाइचारा, आपसी समझदारी र विद्यालयप्रतिको अपनत्व बढाउने उहाँको भनाइ थियो। 

कार्यक्रमको समापन कक्षा ११ का विद्यार्थीहरूको तर्फबाट धन्यवाद ज्ञापनसहित गरिएको थियो। आयोजक समितिका अनुसार कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतिक्रिया