भैरहवा । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित भैरहवा बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको खेल महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन बुधबार आयोजित म्याराथन दौडमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले लुम्बिनी गेटमा रिबन काटेर म्याराथन दौडको उद्घाटन गरेका थिए । लुम्बिनी गेटबाट सुरु भएको उक्त दौड बुद्ध चोक, नयाँसडक र देवकोटा चोक हुँदै क्याम्पस परिसरमा पुगेर सम्पन्न भएको हो । म्याराथन संयोजक भीम भण्डारीका अनुसार छात्रा र छात्र दुवै समूहमा कडा प्रतिस्पर्धा देखिएको थियो ।
छात्रातर्फ रन्जना सिंह प्रथम, सपना पाण्डे दोस्रो तथा आयुस्मा कुँवर तेस्रो हुन सफल भएका थिए । नेहा यादव र रचना यादवले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ गुलसन अली प्रथम, राम वचन मौर्य दोस्रो र नगेन्द्र मौर्य तेस्रो भए । अजित कुमार यादव र गौरव भण्डारी सान्त्वना स्थानमा रहे ।
खेल संयोजक इन्द्रबहादुर थापाले महोत्सव अन्तर्गत भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, १०० मिटर दौड, चेस, इलेक्ट्रोनिक गेम्स तथा म्याराथन प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिए । क्रिकेट र फुटबल भने छात्रतर्फ मात्र आयोजना गरिएको छ ।
महोत्सवमा क्रिकेटमा २० टिम, भलिबलमा १२ टिम, फुटबलमा ६ टिम, बास्केटबलमा ६ टिम सहभागी छन् । ब्याडमिन्टनमा ९८, टेबल टेनिसमा ६२ जना, १०० मिटर दौडमा ४०, सटपुटमा ५०, चेसमा १ सय २० र म्याराथनमा ४० जना विद्यार्थी सहभागी भएका छन् । खेल महोत्सवले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास क्याम्पस प्रशासनले लिएको छ ।