भैरहवा । निर्वाचनको मिति घोषणा भएपछि विगतको निर्वाचन जस्तो यस पटक राजनितिक दलहरुको सक्रियता कम देखिएको छ । गाउँगाउँ टोल टोलबाट स्थानीय नेता र राजनीतिक दलहरुले बिगतमा जस्तो यस पटक मतदाता नामावली दर्ताको लागि चासो दिएका देखिंदैन । पहिला गाडी नै रिजर्व गरेर झण्डासहित समूह समूहमा आउने दृश्यहरु यस वर्ष देखिंदैन । ठाउँठाउँमा खाना पकाउने, होटलमा खाना खुवाएर मतदाता नामावलीका लागि आउने नेता र अगुवाहरु यस पटको नामावली दर्ताको अभियानमा देखिंदैनन् ।
जेनजी आन्दोलनपछि राजनीतिक दलको उपस्थित खुला रुपमा कमै मात्रामा र सानो संख्यामा भइरहेको छ । निर्वाचन कार्यालयमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम धमाधम भइरहँदा दलका प्रतिनिधिहरुले विगतमा जसरी यसतर्फ खासै चासो दिएका छैनन् । पहिला साना–ठूला राजनीतिक दलहरुले गाडी नै रिजर्भ गरेर मतदाता नामावलीमा नाम दर्ता गराउन आउँथे, तर यसपटक दलहरुको सक्रियता नदेखिएको स्थानीयहरु बताउँछन् ।
रुपन्देहीमा मात्रै होइन अन्य जिल्लामा पनि यो दृश्य कमै देख्न सकिन्छ । नेताहरुको उपस्थिति नभएपछि अहिले जेनजी पुस्ताहरु आफै स्वतःस्फुर्त रुपमा मतदाता नामावली दर्ताका लागि कार्यालय आउने गरेका छन् । नेकपा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले नाम दर्ता र अद्यावधिकका लागि वडा वडामा काममा लाग्न भनिएको बताए । यो परिस्थिती नसंगलेको कारण चुनावै भैहाल्छ कि भन्ने कुरामा शंका भएकोले पनि हो । अध्यावधिक कार्यमा भने नियमित रहेको बताए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङले विगतको चुनावमा स्थानीय तहको पनि चुनाव भएकोले स्थानीय नेता र सम्भावित उम्मेदवारहरुको अग्रसरता बढी हुन्थ्यो र खर्च गरेर भए पनि नामावली दर्ताका लागि लैजाने गरिन्थ्यो । अहिले संघीय चुनाव भएकोले केन्द्रबाट नै वडा वडामा मतदाता नामावली अपडेट गराउनका लागि परिपत्र गरेकोले सबै वडामा पठाइएको उनले बताए ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य डार्बिन रोक्काले पहिला मतदाता नामावलीमा धेरैको नाम छुटेकोले अभियानको रुपमा विगतमा संगठन परिचालन गरि गाउँ र टोल टोलबाट दर्ताको पठाउँथ्योे । अहिले पनि अभियान जारी छ, तर पहिला जस्तो संख्यामा नभएकोले छुटफुटलाई मात्रै ल्याउने काम भइरहेको बताए । पार्टीले पनि ६ महिना अघि नै सबै सदस्यलाई अनिवार्य बसाईसराइ गरी अद्यावधिक गर्न पनि निर्णय गरेको बताए ।
लोसपा नेपालका रुपन्देही अध्यक्ष रविकुमार रौनियारले निर्वाचनका लागि पार्टी तयार छ र मतादाता नामावलीमा छुटेकाको नामदर्ता र अद्यावधिकको काममा पार्टी लागेको बताए । सरकारले नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने वातावरण नबनाएकोले चुनावको लागि माहोल सृजना नभएको र पार्टीगत रुपमा पनि नामावली दर्ता गराउन सबैलाई आग्रह गरेको उनले जनाए ।
दर्ताको समय सकिना लाग्दा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिकल ३० सम्म हो । अब केही दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।
नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय रुपन्देही अगाडि विगत ३ दिनदेखि लामो लाइन लाग्दैछ । आयोगले ८ सय बढी मतदाता नामावली दर्ता भएको जिल्लामा १२ घण्टासम्म सेवा दिने भनेपछि रुपन्देहीमा पनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म मतदाता नामावली दर्ताको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिइन । अर्यालले उत्साहपूर्वक रुपमा नागरिकको सहभागिता रहेको छ, जसमा धेरै जेनजी पुस्ताको सहभागिता छ ।
कार्यालयमा मात्रै होइन निर्वाचन कार्यालय अगाडि रहेका अनलाइन फारम भर्ने ठाउँमा पनि भिडभाड छ । बारम्बर सर्भर डाउन भएकाले फारम भर्नै समस्या भएको गुनासो सेवाग्राहीको छ । सर्भर डाउन भइरहेकाले सेवा प्रवाहमा ढिलाइ भएको गुनासो आएपछि आयोग सेवा प्रवाहको गुनासो सहजीकरण र सरलीकरणका लागि उप–सचिव कुलबहादुर जिसीको संयोजकत्वमा शाखा अधिकृत दिपक पौडेल र कम्प्युटर इञ्जिनियर प्रिता दहाल सदस्य रहेकी छन् । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शीघ्र सहजीकरणका कलागि यो कार्यटोली खटिएको छ ।
७७ जिल्लामा नै चाप बढेकाले सर्भरमा समस्या भएको कार्यालयको भनाइ छ । यसबिच पनि रुपन्देहीमा ३ वटा डेस्क राखेर दैनिक करिब १ हजार जनालाई सेवा दिइरहेको कार्यालयले जनाएको छ । ‘७७ जिल्लामै अनलाइनमा धेरै आवेदन आएको छ । सर्भरले धान्न सकेको छैन । क्षमताभन्दा बढी भएर समस्या आएको हो । पहिलो जिल्लाकै निर्वाचन कर्यालयमा गएर नाम दर्ता गराउन सकिन्छ । तर बाहिर जिल्लाका पनि कार्यालयमा आएकाले भिड बढी भएको छ । सफ्ट्वेयर राम्रोसँग चल्ने हो भने धेरै गर्न सकिन्छ ।
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेका कार्यालयले बुधबारदेखि १२ घण्टा सेवा दिएको हो । साँझ ७ बजेसम्म भए पनि लाइनमा बसेकालाई सेवा दिइरहेको कार्यालयले जनाएको छ ।
समस्याकाबिच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएको देखिन्छ । नामावली दर्तामा अधिकांश जेनजी समूहका रहेका छन् । मताधिकारका लागि उमेर पुगे पनि नामावली दर्ता नगराएहरु पनि अहिले दर्ताको लागि आएका छन् । ‘पहिलो पटक मदतान गर्न आतुर छौँ । सोचेर, बुझेर राम्रो लिडरलाई चुन्नुपर्छ ।’– लाइनमा बसेकाका युवाहरुको भनाइ छ ।
असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक ३० कात्तिकसम्म हुन्छ । १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।
निर्वाचन आयोगले सक्कल नागरिकताको प्रमाणपत्रले मात्र नाम दर्ता गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।
रुपन्देहीका हाल ५ वटा निर्वाचन क्षेत्र छ । कार्यालयको वेभसाइटको तथ्याङ्क अनुसार जिल्लाको कुल मतदाता ६ लाख ४३ हजार ८ सय ७४ रहेको छ ।