भैरहवा। मनलाग्दी कर वृद्धि, नक्कली मदिराको खुलेआम कारोबार र होलसेलवालाले नै फुटकरको रेटमा मदिरा बेच्ने अभ्यासले रुपन्देहीका मदिरा तथा होटल–रेस्टुरेन्ट व्यवसायीहरूलाई मर्कामा पारीरहेका छन्। व्यापार चलाउँदा सामना गर्नुपर्ने यी श्रेणीका अन्यायपूर्ण व्यवहारले वैध रूपमा कर तिरेर बसेका व्यवसायीहरू दिनदिनै थप दबाब र अनिश्चिततामा धकेलिएका छन्।
मदिरा व्यवसायी संघ भैरहवा–रुपन्देही र होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनले संयुक्त रूपमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाभरका मदिरा थोक–खुद्रा व्यापारी, होटल तथा रेस्टुरेन्ट सञ्चालकहरुले आफ्नो भोगाइहरु सुनाएका थिए ।
कार्यक्रममा मदिरा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष भागीरथ पाण्डेले अहिले नक्कली मदिराको बजार फैलिँदो क्रममा रहेको र यसको प्रभाव सबैभन्दा धेरै वैध व्यवसायीले भोगिरहेको बताए।
त्यस्तै, संस्थाका अध्यक्ष केशव ज्ञवालीका अनुसार सरकारले मूल्य प्रणालीमा स्पष्ट मापदण्ड ल्याउनैपर्छ।” ज्ञवालीले अनुगमन एकीकृत, पारदर्शी र नियमअनुसार हुने हो भने व्यवसायीलाई समस्या हुँदैन, तर अहिले निकाय धेरै भएकाले एउटै व्यापारलाई धेरै पटक जाँच गरिने अवस्था अन्त्य हुनुपर्ने बताए।
आयोजक दुवै संस्थाले कार्यक्रममार्फत उठाइएका सबै समस्या, गुनासा र सुझाव सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसँग औपचारिक रूपमा राखेर समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।