भैरहवा । इशान शर्मा पौडेलको मृत्यु दुर्घटना नभई योजनावद्ध हत्या भएको दाबी गर्दै ब्युटिपार्लर एसोसिएसन र ब्युटिसियन संघले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।
ब्युटिपार्लर एसोसिएसन संघ तथा ब्युटिसियन संघका संरक्षक चिनु गुरुङले प्रहरी प्रशासनले सार्वजनिक गरेको प्रारम्भिक विज्ञप्ति बनावटी रहेको आरोप लगाउँदै घटनाको गम्भीर, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने बताइन्। उनले इशनले कुनै पनि हालतमा न्याय पाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशकी अध्यक्ष बविता के.सी. कार्कीले ध्यानाकर्षण पत्र वाचन गरिन्। नेपाल ब्युटिसियन संघका केन्द्रीय पूर्व वरिष्ठ उपाध्यक्ष शान्ति शर्माले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा सजाय तथा अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न माग गरिन्। “न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो,” भन्दै इशनलाई न्याय नपाएसम्म आवाज नरोकिने बताइयो।
इशन शर्मा पौडेल स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए। उनी तेक्वान्दो खेलाडी तथा प्रशिक्षकसमेत थिए।
घटनाबारे प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले पारदर्शी छानबिन भइरहेको जानकारी दिँदै प्रशासन यस विषयमा गम्भीर रहेको बताए। उनले अनुसन्धानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
परिवारजनका अनुसार पुस २ गते इशन विद्यालय तथा जिम हाउस गएपछि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। पुस ३ गते घर नजिकै सडक किनारको नालीमुनि इशनको शव फेला परेको थियो। प्रहरीको प्रारम्भिक रिपोर्टलाई अस्वीकार गर्दै परिवारजन र स्थानीयले योजनावद्ध हत्या भएको दाबी गर्दै आएका छन्।