निर्वाचनको समयमा प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा अनुगमनका लागि उच्च अधिकारीहरू खटाउने तयारी गरेको छ । तराईका चार जिल्लामा एसएसपी खटाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । झापा, सर्लाही, चितवन र रूपन्देहीमा एसएसपी खटाउन लागिएको छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन बिच तीव्र प्रतिस्पर्धा रहेकाले सोही क्षेत्रलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा संवेदनशील मानिएको छ ।
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमेरश सिंहबिच टक्कर बढेको छ । सर्लाहीमै पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा छन् । त्यस्तै, चितवनमा रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । त्यस्तै, रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू मैदानमा छन् । केही एसएसपीलाई दुई–तीन जिल्ला हेर्ने गरी खटाउन लागिएको छ । पहाडका पनि केही संवेदनशील जिल्लाहरूमा एसएसपी र एसपीलाई चुनावलक्षित गरी खटाउने तयारी भइरहेको छ ।
प्रहरी प्रवक्ता अविनारायण काफ्ले प्रहरी प्रधान कार्यालयलगायत निकायमा कार्यरत कर्मचारीलाई निर्वाचनका लागि विभिन्न जिल्लामा खटाउने तयारी भइरहेको बताउँछन् । उपत्यकाबाट करिब १२ हजार प्रहरीलाई उपत्यकाबाहिरका जिल्लामा खटाउन लागिएको छ । निर्वाचनमा ७५ हजार ४९७ प्रहरी परिचालन हुँदै छन् । त्यस्तै, नेपाल प्रहरीमातहत एक लाख ३८ हजार ९८० निर्वाचन प्रहरी पनि खटाउन लागिएको छ ।
लुम्बिनीमा निर्वाचन लक्षित सुरक्षा सुदृढीकरणबारे छलफल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, देउखुरी मा बिहीबार आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र बहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तयार भइसकेको उल्लेख गर्नुभयो । उहाँले शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अति संवेदनशील मानिएका क्षेत्रमा थप ध्यान पुग्ने नै छ । नागरिकहरूको साथ र सहकार्य लिएर निर्वाचन सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक छ ।’
भेटमा डीआईजी खत्रीले निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरीको सक्रियता बढाइएको र सबै सुरक्षा निकायबीच समन्वयका साथ काम भइरहेको बताउनुभयो ।