३०४ औँ पृथ्वी जयन्तीको अवसरमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

खबर नागरिक

भैरहवा । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता शुक्रबार भैरहवामा सम्पन्न भएको छ। सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा नगरभित्रका १२ वटा विद्यालयका १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

“राष्ट्र निर्माताको दूरदर्शिता र आजको नेपाल” शीर्षकमा सम्पन्न प्रतियोगितामा आर्य पब्लिक स्कुलका हृदय रघुवंशीले प्रथम स्थान हासिल गर्न सफल भएका छन । बेलहिया माध्यमिक विद्यालयकी पूजा विकले द्वितीय स्थान प्राप्त गरिन् भने आर्या पब्लिक स्कुलकी  सुभाञ्जली भट्टराई तृतीय भइन्। यसैगरी भानु माध्यमिक विद्यालयकी करिश्मा ओली र सु संस्कृत माध्यमिक विद्यालयका जिसान्त रसाइलीले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रमुख अतिथि तथा नगर प्रमुख इस्तियाक अहमद खाले विद्यार्थी नै राष्ट्रको भविष्य भएको उल्लेख गर्दै ज्ञान, विचार र संस्कारका माध्यमबाट सक्षम नागरिक निर्माण गर्न वक्तृत्वकला जस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमका स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिरा बहादुर शाहले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम सिकाउने बताउनुभयो। उहाँले विद्यालयस्तरमै विद्यार्थीको प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा राख्नुभयो।

 कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा उपसचिव चेतनशील लम्साल, विद्यालय व्यवस्थापक आनन्दप्रसाद गुप्ता, स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष वीरबहादुर शाह तथा विद्यालयका प्राचार्य वासुदेव पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रतियोगिताको संयोजन नागरिक स्वतन्त्र समाजकी सदस्य बिना भण्डारीले गर्नुभएको थियो। निर्णायक मण्डलमा विजय गोविन्द श्रेष्ठ, डा. गीतु गिरी र वनमालि निराकार रहनुभएको थियो भने कार्यक्रम सञ्चालन स्वतन्त्र नागरिक समाजका सदस्य तारा बेलबासेले गर्नुभएको थियो।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पृथ्वी जयन्तीका दिन पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, वक्तृत्वकला र बौद्धिक क्षमताको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया