भैरहवा । श्री पक्लिहवा माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६७औँ वर्षगाँठ तथा अभिभावक भेला एक विशेष समारोहका साथ सम्पन्न गरेको छ। विद्यालयले पछिल्लो समय भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गरेको भए पनि शैक्षिक गुणस्तर र नतिजा सुधारलाई अबको मुख्य चुनौतीको रूपमा अघि सारेको छ।
स्थापना दिवसको अवसर विद्यालयका प्राचार्य बसन्त बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक विकास सन्तोषजनक रहेको बताउनुभयो। प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले भौतिक संरचनामा फड्को मारेका छौँ, तर अब हाम्रो सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षा र नतिजा सुधारमा केन्द्रित रहने बताउनु भयाे । प्राचार्य बस्नेतले शैक्षिक स्तर उकास्नका लागि अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवाला निकायबीचको बलियो सहकार्य र समन्वय अपरिहार्य रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले विद्यालयको भौतिक सुधारको प्रशंसा गरे तापनि अभिभावकको न्यून सहभागिताप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। शिक्षाको स्तर सुधार गर्न घर र विद्यालय दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले बालबालिकाको सिकाइ प्रक्रियामा अभिभावकको सक्रियता बढाउन आग्रह गर्नुभयो।
विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष सुशिल गुरुङले विद्यालयको वित्तीय एवं भौतिक प्रगतिबारे जानकारी दिँदै विभिन्न तहका सरकारको सहयोगमा करिब ५ करोड ५० लाख रुपैयाँ पूर्वाधार विकासमा खर्च भइसकेको जानकारी दिनुभयो। सो बजेटबाट हालसम्म १६ वटा नयाँ कक्षाकोठा निर्माण, ५ वटा पुराना कोठाको जीर्णोद्धार र खेलमैदानको स्तरोन्नति गरिएको उहाँले बताउनुभयो। भौतिक रूपमा विद्यालय सम्पन्न हुँदै गएकाले अब विद्यार्थीहरूका लागि थप आकर्षक वातावरण सिर्जना गरिने उहाँको भनाइ थियो।
विद्यालयले हालसम्मको शैक्षिक उपलब्धि अपेक्षित रूपमा हासिल हुन नसकेको स्वीकार्दै आगामी कार्ययोजना समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत विद्यार्थीको आकर्षण बढाउन र खेलकुदका माध्यमबाट क्षमता विकास गर्न विद्यालयमा ‘इन्डोर स्पोट्र्स एकेडेमी’ स्थापना गर्ने लक्ष्य राखिएको छ।
स्थापना दिवसको उल्लासमय वातावरणमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा तेक्वान्दो कौशल प्रदर्शन गरेका थिए। सोही अवसरमा विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो। कार्यक्रमले विद्यालयको आगामी यात्रा भौतिक विकासबाट शैक्षिक उत्कृष्टतातर्फ मोडिने संकेत गरेको छ।