बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा आज दिउँसो एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।
बुटवल–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु बुटवल मिलनचोकमा रहेको न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लज मा भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार क्षेत्री आज दिउँसो एक महिलासहित दुई बालबालिका लिएर उक्त होटलमा पुगेका थिए । उनीहरूले दोस्रो र तेस्रो तलामा दुईवटा कोठा बुक गरेर कोठामै खाजा मगाएका थिए । केहीबेरपछि क्षेत्री बेहोस भएको भन्दै उनीसँगै रहेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएको प्रहरीले बताएको छ ।
होटलबाट तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइए पनि चिकित्सकले क्षेत्रीलाई मृत घोषित गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ ।
प्रहरीले होटलमा क्षेत्रीसँग बसेकी ३० वर्षीया सुनार थरकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । ती महिला बुटवल–२ पाखापानीकी हुन् ।
डीएसपी रानाका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले माथिल्लो तलाको कोठामा मासु र मदिरा सेवन गरेपछि तल्लो तलाको कोठामा सरेका थिए भन्ने विवरण खुलेको छ ।
होटलका सञ्चालक शेरबहादुर रेस्मीले पाहुनाले परिचय दिई कोठा बुक गरेको र घटनाबारे आफूलाई पछि मात्र थाहा भएको बताए ।