पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन खुला किताबजस्तै रहेको भन्दै विषयलाई अतिरञ्जित नगर्न अपिल गरेका छन् । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो अपिल गरेका हुन् ।
सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको उनले बताएका छन् ।
नेपालको कानूनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु,ु उनले लेखेका छन्, ुस्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरंजना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
देउवाले गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री बनेको समयमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको बताएका छन् ।भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ, उनले थप लेखेका छन् ।