पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका कारण हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता कमजोर हुँदा उडान सञ्चालनमा समस्या देखिएको हो । दृष्यताको हिसाबले सबैभन्दा बढी भैरहवा प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्र मापन गरिएको छ । यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५ सय मिटर, मोरङको विराटनगरमा १ हजार मिटर, बाँकेको नेपालगञ्जमा १ हजार २ सय मिटर र काठमाडौंमा ६ हजार मिटर भिजिबिलिटी रहेको छ ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यद्यपि आज राति र भोलि पश्चिम नेपालमा आंशिक बदली रहने सम्भावना रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।