भैरहवा । चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशमा शक्ति प्रदर्शनसहितको सन्देशमूलक कार्यक्रम घोषणा गरेको छ। पार्टीले भैरहवामा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्दै साविक लुम्बिनी अञ्चलका ६ जिल्लालाई एकै ठाउँमा जोड्ने तयारी गरेको हो। आयोजकका अनुसार कार्यक्रममा करिब एक लाख जनसहभागिता गराउने लक्ष्य लिइएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक सन्तोष गिरीले सभा व्यवस्थित, अनुशासित र छोटो बनाइने बताए। कार्यक्रमका लागि रूपन्देहीको सिद्धार्थनगर–८, अञ्चलपुरस्थित खुला मैदान रोजिएको छ। करिब ८० हजारभन्दा बढी मानिस अट्न सक्ने गरी प्राविधिक व्यवस्थापन मिलाइएको जनाइएको छ। प्रवेश–निर्गमन मार्ग, मञ्च, ध्वनि प्रणाली र आपतकालीन निकाससमेत इन्जिनियरिङ डिजाइनअनुसार तयार पारिने गिरीको भनाइ छ।
रास्वपाले अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी (पश्चिम), कपिलवस्तु र रुपन्देहीबाट नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेको छ। जिल्लागत यातायात समन्वय, स्वयंसेवक परिचालन र सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरिसकिएको आयोजकले जनाएको छ।
कार्यक्रम करिब दुई घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह तथा ६ जिल्लाका उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
आयोजकका अनुसार यो सभा केवल शक्ति प्रदर्शन होइन, “जनता प्रधान राजनीति”प्रतिको प्रतिबद्धताको सार्वजनिक उद्घोष हो। पुरानो राजनीतिक शैली त्याग्दै नयाँ अभ्यास सुरु गर्ने सन्देश दिन सभा केन्द्रित हुने बताइएको छ।