तनावग्रस्त जीवनमा शान्तिको खोजी : ध्यान नै आजको आवश्यकता

प्रेरणा नेपाली

भैरहवा । तीव्र जीवनशैली, बढ्दो मानसिक दबाब, भविष्यप्रतिको अनिश्चितता र नकारात्मक सोचका कारण आजको समाज विशेषगरी युवा पुस्ता मानसिक रूपमा असन्तुलनको अवस्थामा पुग्दै गएको छ। यही अवस्थामा मनलाई स्थिर, सकारात्मक र सन्तुलित बनाउन ध्यान सबैभन्दा प्रभावकारी माध्यम बन्दै गएको छ। ध्यानले मानसिक शान्ति मात्र होइन, जीवनप्रति दृष्टिकोण नै परिवर्तन गर्न सक्ने विज्ञहरूको भनाइ छ।

यही सन्देशलाई समाजमा फैलाउने उद्देश्यसहित विश्व ध्यान दिवसको अवसरमा रुपन्देहीमा दुई ठूला सामूहिक ध्यान कार्यक्रम आयोजना गरिने भएको छ। द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवाको आयोजनामा पुस ६ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा सामूहिक ध्यान कार्यक्रम हुने भएको हो।

कार्यक्रम संयोजक दिपेन्द्र प्रधानका अनुसार कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, उद्योगी–व्यवसायी तथा सर्वसाधारण गरी करिब एक हजार जनाको सहभागिता रहनेछ। कार्यक्रममा भारतको बैंगलोरबाट आउने स्वामी देवदत्त ब्रह्मचार्य र स्थानीय प्रशिक्षकहरूले ध्यान गराउनेछन्। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले गर्ने जनाइएको छ।

त्यसै दिन दिउँसो १ बजेदेखि कञ्चन गाउँपालिका–४ स्थित दियो खेलमैदानमा अर्को विशाल ध्यान कार्यक्रम आयोजना गरिनेछ, जहाँ कक्षा ८ देखि माथिका विद्यार्थी, क्याम्पस विद्यार्थी र अभिभावक गरी १० हजारभन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक चुडामणि पौडेलले जानकारी दिए।

‘वैश्विक शान्ति र सद्भावका लागि ध्यान’ भन्ने नारासहित आयोजना गरिएका यी कार्यक्रमहरूले युवामा बढ्दो निराशा घटाई सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने प्रशिक्षक मंगल भण्डारीले बताए। नेपाल ध्यान र अध्यात्मको उद्गमस्थल भएकाले यसको महत्व अझ गहिरो रहेको उनको भनाइ छ।

द आर्ट अफ लिभिङ्ग फाउण्डेशन सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो, जसले विश्वभर योग, ध्यान र श्वासप्रश्वासका अभ्यासमार्फत करोडौं मानिसलाई मानसिक शान्ति र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउँदै आएको छ।

प्रतिक्रिया