रहेनन् सिद्धार्थनगरका पूर्व उपमेयर गुप्ता

खबर नागरिक

भैरहवा । सिद्धार्थनगर रुपन्देहीका पूर्व उपमेयर रतन कुमार गुप्ताकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । 

सिद्धार्थनगर ३ निवासी गुप्ताकाे बुधबार उपचारकाे क्रममा निधन भएकाे हाे । विगत ४ वर्षदेखि उपचाररत गुप्ता गतसातादेखि स्वास्थ्य अवस्था गम्भिर भएपछि मणिग्राम स्थित क्रिमशन अस्पतालमा भर्ना भई उपचार सेवा लिईरहेका थिए , बुधबार राती ८ बजे अस्पतालमा निधन भएकाे हाे । 

वि.सं. २०४९ सालमा रतन कुमार गुप्ता उपप्रमुखमा निर्वाचित भएका थिए । वि.संं २०६४ र २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार समेत बनेका थिए ।

सरल जीवनशैली, स्पष्ट विचार र मृदुभाषी स्वभावका गुप्ता सिद्धार्थनगरका एक अनुभवी अभिभावक र कर्मनिष्ठ विकासप्रेमी नेता थिए । जननिर्वाचित भई यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउदै राजनीतिसँगै स्थानीय सामाजिक संघसंस्था, धार्मिक कार्य र विपन्न वर्गको उत्थानमा सधैं अग्रसर रहने उनकाे निधनकाे खबरले सिद्धार्थनगर शोकमय भएकाे छ। 

लुम्बिनी ईट्टा व्यवसायी संघका संस्थापक रहेका स्वर्गीय गुप्ता नेपाल ईट्टा व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार समेत थिए ।

धर्मपत्नी सहित २ छाेरा र ३ छाेरी रहेकी स्वर्गीय गुप्ताकाे अन्तेष्टी हिन्दु धार्मिक परम्परा अनुसार स्थानिय स्वर्गद्वारी घाटमा बिहीबार हुने परिवार स्राेतले जानकारी दिएकाे छ ।

यसै क्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले पूर्व नगर उपप्रमुख गुप्ताको निधन  भएकोमा दु:ख ब्यक्त गर्दै स्वर्गीय गुप्ताको निधनले नगरपालिका र समग्र रुपन्देहिको समाज सेवामा अपुरणिय क्षती पुगेको बताएका छन।

खानले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिबङ्गत आत्माको बैकुण्ठ बासको कामना सहित परिवारजनमा समवेदन व्यक्त गरेेका छन ।

यस्तै स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी र सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उपप्रमुख गुप्ताको निधनको शोकमा नगरपालिकाले माघ २२ गते बिहीबार शोक बिदा दिएको छ । बिहीबारका दिन नगरपालिका मातहतका कार्यालयहरु, शैक्षिक संस्था (सामूदायिक, संस्थागत तथा धार्मिक विद्यालय) मा बिदा दिइएको नगरप्रमुख खाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया