रुपन्देही । सुशासन र कानुनी राज्यबारे कडा संकेत दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जी आन्दोलनमा देखिएको घुसपैठ र अराजक गतिविधिलाई “राज्यका लागि अस्वीकार्य” रहेको उल्लेख गर्दै आवश्यकताअनुसार कडा कदम चालिने चेतावनी दिएका छन्।
कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित लुम्बिनी प्रदेश–स्तरीय सुरक्षा गोष्ठीमा कार्यक्रममा बोल्दै पछिल्लो समय देशभर देखिएको जेन्जी आन्दोलन र त्यसमा देखिएका घुसपैठ, सुरक्षा चुनौती, सुशासन तथा राजस्व चुहावटका विषयमा विशेष चर्चा–बहस भएको थियो।
गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भने “वर्तमान सरकार कसैको निगाहमा बनेको होइन, जेन्जी मोमेन्टले जगमा बनाएको सरकार हो। व्यक्तिगत इच्छाले होइन, देशको विशेष परिस्थितिले निम्त्याएको जिम्मेवारी पूरा गर्न आएका हौं।”
उनले राजस्व चुहावटमा देखिएका कमजोरी तत्काल सुधारिने उल्लेख गर्दै भने,“यदि सरकारी संयन्त्रमा कमजोरी छ भने ती अन्त्य हुनैपर्छ। आवश्यकता परे उच्च तहमै छलफल गरेर तुरुन्त करेक्सन गर्दै आएका छौं।”
गृहमन्त्री अर्यालले जेन्जी मोमेन्टले जोड दिने सुशासनकै मूल तत्व कानुनी शासन भएको बताउँदै दण्डहीनतामा शून्य सहनशीलता अपनाइने चेतावनी दिए।
गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रदेश सरकार अहिले नै प्रत्यक्ष रूपमा हिंसात्मक घटनाको मारमा परेको उल्लेख गर्दै भने,“सुशासन र भ्रष्टाचारविरुद्ध लडिरहेको बेला आज मेरो आफ्नै घर खरानी भएको छ।”
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण टोली प्रमुख), प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रमुखहरू, जिल्ला प्रशासन कार्यालय, स्थानिय तहका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, दैवी प्रकोप तथा उद्धार निकाय, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसम्बन्धी कार्यालयहरू, साथै मानव बेचबिखन नियन्त्रणमा संलग्न संस्था, महिला समूह, अधिकारकर्मी र पीडित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।