पोखरा, १५ चैत | पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएसँगै यहाँको ४-५ खर्ब रुपैयाँ बराबरको लगानी जोगाउन र आन्तरिक पर्यटनलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूलाई तीव्रता दिइएको छ। पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको झण्डै २५ वर्ष लामो सहकार्यले अहिले नयाँ उचाइ लिइरहेको छ।
पोखरामा अहिले नयाँ होटल तथा रेस्टुरेन्ट खुल्ने मात्र नभई पुरानाले समेत आफ्नो स्तरवृद्धि गरिरहेका छन्। साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि केबलकार, बन्जी जम्पिङ र प्याराग्लाइडिङ जस्ता सुविधाहरूले पोखरालाई अझ आकर्षक बनाएका छन्। पर्यटन बोर्डको मुख्य उद्देश्य यहाँको अर्बौंको लगानी संरक्षण गर्दै व्यवसायीहरूलाई लगानीको उचित प्रतिफल मिल्ने वातावरण तयार गर्नु रहेको छ।
पोखरा महानगरपालिकाले 'ग्रेटर पोखरा'को अवधारणा ल्याएको छ, जसअन्तर्गत लेकसाइड मात्र नभई बेगनास, पचभैया लगायतका आसपासका क्षेत्रहरूलाई समेत समेटेर एकीकृत विकास गर्ने लक्ष्य राखिएको छ। गण्डकी प्रदेशलाई 'मिनी नेपाल'को रूपमा व्याख्या गर्दै यहाँका १०० मिटरको उचाइ (त्रिवेणी धाम) देखि ८,००० मिटरभन्दा माथिका अन्नपूर्ण जस्ता हिमशृंखलासम्मको विविधतालाई विश्वबजारमा चिनाउने प्रयास भइरहेको छ।
पोखरामा बाह्रै महिना पर्यटक आकर्षण गर्न सिजन अनुसारका उत्सवहरू सञ्चालन हुने गरेकाे छ ।
गर्मी महिनामा होटल संघको आयोजनामा 'फेवा नववर्ष महोत्सव', जाडो महिना: रेबान द्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको 'पोखरा स्ट्रिट फेस्टिभल', वर्षा महिना: पोखरा पर्यटन परिषद्को 'असारै रोपाइँ महोत्सव', चाडपर्व सिजन: होटल संघद्वारा आयोजित 'भाइटीका महोत्सव'।
नेपाल पर्यटन बोर्डले पोखरालाई केन्द्रमा राखेर बागलुङ कालिका, मुक्तिनाथ, अन्नपूर्ण बेस क्याम्प र बन्दीपुर जस्ता गन्तव्यहरूसँग 'लिङ्केज' तयार गरिरहेको छ।
अहिले आन्तरिक पर्यटक भित्र्याउन 'पूर्व संस्मरण' अभियान सुरु गरिएको छ। वीरगन्जबाट सुरु भएको यो अभियान विराटनगर, फिक्कल, इटहरी र हेटौंडा हुँदै समापन हुनेछ। त्यसैगरी, आगामी वैशाख तेस्रो हप्तादेखि पश्चिम नेपालका विभिन्न सहरहरूमा पनि यस्तै प्रवद्र्धनात्मक कार्यक्रमहरू लैजाने योजना बोर्डले बनाएको छ।
पर्यटन बोर्डको कार्यालय पूर्ण रूपमा सक्रिय भएसँगै नयाँ व्यवसायीहरूमा समेत पोखरामा लगानी गर्दा प्रतिफल सुनिश्चित हुने विश्वास पलाएको छ।
March 29, 2026