भैरहवा– कुवेतमा रोकिएका नेपाली यात्रुहरूलाई स्वदेश फर्काउन कुवेत एयरवेजले आगामी बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष चार्टर उडान गर्ने भएको छ। मध्यपूर्वमा बढेको तनावका कारण नियमित उडान अवरुद्ध भएपछि कुवेतस्थित नेपाली दूतावासको समन्वयमा यो उडान सञ्चालन गर्न लागिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उक्त उडानका लागि अनुमति दिएको छ। प्राधिकरणका अनुसार यो उडानका लागि कुवेत एयरवेजले ३ सय ३४ यात्रु क्षमता भएको वाइड वडी बोइङ ७७७–३०० विमान प्रयोग गर्नेछ। यो ठूलो आकारको विमान भैरहवामा पहिलोपटक अवतरण गर्न लागेको हो। विमान बुधबार दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका छ भने फर्किँदा यात्रुबिनै खाली लाहाेर पाकिस्थान फिर्ता हुने भैरहवा विमानस्थलले जानकारी दिएकाे छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि नेपाल–कुवेत उडान प्रभावित हुँदै आएको छ। मंगलबारसम्म नियमित उडान रोकिएको ३२ औं दिन पुगिसकेको छ। कुवेत एयरवेजका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि हालसम्म नियमित उडान पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। वैकल्पिक व्यवस्थाका लागि साउदी अरबको दमामबाट काठमाडौं उडान गर्ने तयारी भइरहेको र त्यसका लागि प्राधिकरणसँग अनुमति मागिएको छ।
सन् २०२२ अक्टोबर ३१ देखि नेपाल उडान सुरु गरेको कुवेत एयरवेजसँग हाल ३४ वटा विमान छन्, जसले ५६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिँदै आएका छन्। यसअघि भैरहवा विमानस्थलमा कतार एयरवेज, फ्लाई दुबई, जजिरा, थाई एयर एसियाका साथै नेपालका हिमालय र नेपाल एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान गरिसकेका छन।