भैरहवालाई पर्यटनमैत्री शहरको रुपमा चिनाउने : अध्यक्ष महोत्रा
भैरहवा । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औं साधारण सभा तथा ७औं अधिवेशनबाट निर्बाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।
२ वर्षे कार्यकाल रहने संगठनका नवनिर्बाचित अध्यक्ष राजेश महोत्रा सहितको कार्यसमितिलाई सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन गरिएको हो ।
महोत्राको अध्यक्षतामा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितीय उपाध्यक्षमा कल्पना भट्टराई (न्यौपाने), उपाध्यक्षमा गुनाखर खनाल, महासचिवमा बाल बहादुर घिमिरे (सुनिल), कोषाध्यक्षमा दल बहादुर गुरुङ, सचिवमा अर्जुन प्रसाद गौतम र सह–कोषाध्यक्षमा पदम राज पन्थ रहेका छन । यस्तै सदस्यमा शुभराज गौतम, रोमाकान्त भट्टराई, सुमन न्यौपाने, हरि प्रसाद ज्ञवाली, दामोदर पन्थी, सुधिर रावल मनोनित सदस्यमा कमल प्रसाद आाचर्य र शन्त बहादुर खत्री रहेका छन ।
नवनिर्बाचित अध्यक्ष महोत्राले पर्यटनमैत्री शहरको रुपमा चिनाउनका लागि ठाँउ ठाउमा पर्यटकीय सूचना वोर्ड राख्ने, बेलहिया र गौतामबुद्ध विमानस्थल वरपर सौन्दर्यीकरण गर्ने, यस क्षेत्रका सबै होटललाई संगठित गरी वर्गीकरण गर्ने, व्यवसायिक क्षमता तथा रोजगारदाताको स्तोननती गरी गुणस्तरीय सेवा प्रदान गर्न तालिम गोष्ठी र दक्षता बृद्धिको काम गर्ने, पर्यटनमेत्री प्याकेजहरु निर्माण गर्ने, विगतको कार्यक्रमलाई निरन्तरता दिदै थप सृजनशील कामहरु गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर अधिकारीले नयाँ टीमले रात्रीकालिन बजारको लागि प्रयास र पहल गर्नुपर्ने बताईन । उनले यो टीमले आर्थिक चलायमान हुने खालको नयाँ उदाहरणीय काम गर्नुका साथै गुणस्तरीय होटल भए गुणस्तरीय पर्यटक आउने बताउदै लुम्बिनी क्षेत्र सुरक्षित छ भन्ने प्रचार प्रसार गर्नुपर्ने बताइन । सरकारबाट अपेक्षा गर्ने भन्दा पनि निजि क्षेत्रबाट लगानी गरी पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउन उनले आग्रह गरिन । पर्यटकका लागि लुम्बिनी क्षेत्र सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा बोल्दै व्यवसायीले पर्यटकीय थुप्रै सम्भावनाहरु भएपनि फाइदा लिन नसकेकोले पर्यटकीय स्थल थप गरी पर्यटन प्रवद्र्धनमा केन्द्रीत भएर लाग्नु पर्ने, पर्यटन विकासको लागि अनुसन्धान खोज र नौलो अभ्यासहरु गर्नुपर्ने, पर्यटक भुलाउने र समयावधि लम्बयाउने प्याकेजहरु पर्यटन व्यवसायीबाट आउनु पर्ने बताए । विमानस्थल यहाँको भविष्य रहेकोले यसलाई संचालन गर्नका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने, होटलका समस्याहरु पहिचान गरि पर्यटकलाई दुख दिने काम भएकोमा यसलाई हटाउनु पर्ने र नेपाल असुरक्षित छ भन्ने प्रचार भएकोमा यसलाई चिर्दै सुन्दर नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनु पर्ने बताए ।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लिलामणि शर्माले लुम्बिनी भएर पनि हामी प्रयोग गर्न नसकेका बताउदै बौद्धमागीका लागि हामी यहाबाट बौद्ध अध्यात्मिक पर्यटनको रुपमा लैजानु पर्ने बताए । उनले सबै एक ढिक्का भएर विमानस्थल फुलफेज चलाउनका लागि बुद्ध राष्ट्रहरुसँग सिधा उडानको लागि पहल गर्न दबाब दिनु पर्ने बताए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले गुणस्तरीय पर्यटक ल्याई यस क्षेत्रलाई पर्यटकीय बातावरण बनाउन सकिने बताए । व्यवसायी सुरक्षित रहेमा पर्यटन व्यवसाय सुरक्षित हुने हुदा सुरक्षा निकायले गरेको काम पर्यटन व्यवसाय र व्यवसायीकै सुरक्षाका लागि भएको बताउदै पर्यटन व्यवसायीले सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए ।
संस्थापक अध्यक्ष माधव नेपालले होटल व्यवसाय पर्यटनको जोखिम मध्येको व्यवसाय भएकोले जवाफदेही बन्नु पर्ने बताए । यहाँ थुप्रै प्राकृतिक सम्पदा हरु भएकोले यसबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक मुरारीप्रसाद पौडेलले नेपालमा उडान गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरु सहित सम्पूर्ण पर्यटन व्यवसायी र सरोकारवाला निकाय एकै स्थानमा आएर एकीकृत पर्यटन योजना बनाउन जरुरी रहेको बताए ।
चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काले गुणस्तरीय होटल विना पर्यटनको विकास नहुने हुदा यो पर्यटनको मेरुदण्ड रहेको बताए । गुणस्तरीय होटललाई पर्यटन प्रवद्र्धनमा सामेल हुन आग्रह गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भारतिय पर्यटकहरुलाई प्राथमिकतामा राखी सहज रुपमा आउने वातावरण बनाउनु पर्छ । सुधारन्मुख बेलहिया बनाउदै गुणस्तरीय पर्यटक भित्रयाउन पर्यटनव्यवसायीले लिनुपर्ने बताए । उनले होटललाइ उद्योग सरहको मान्यता दिइने घोसणा भएपनि कार्यान्वयन नभएकोले सरकारलाई घचघचाउनु पर्ने बताए ।