भैरहवा । रुपन्देही–१ को चुनावी मैदानमा परिवर्तन र परिणामको नारासहित उत्रिएका प्रज्जवल बोहरा ले विकास, सुशासन र रोजगारीलाई केन्द्रमा राख्दै आफ्नो स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्। आइतबार धकधईमा आयोजित कार्यक्रममा उनले अबको राजनीति भाषण होइन, कामबाट मापन हुनुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बोहराले सरकारी सेवा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, बजेट खर्चमा पूर्ण पारदर्शिता अपनाउने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाए।
शिक्षातर्फ उनले लुम्बिनी बौद्ध विश्वविद्यालय को गुरुयोजना कार्यान्वयन गर्ने, विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने तथा रामनरेश यादव विद्यालय लाई क्याम्पसमा स्तरोन्नति गर्ने योजना सुनाए। स्वास्थ्य सेवामा सुधार ल्याउँदै धकधई स्वास्थ्य केन्द्र लाई विशेषज्ञ अस्पताल बनाउने र प्रत्येक पालिकामा एम्बुलेन्स तथा दमकलको व्यवस्था गर्ने उनले बताए।
पर्यटन र पूर्वाधार विकासअन्तर्गत देवदह लाई लुम्बिनी सँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने, रोहिणी नदी संरक्षण गर्ने तथा किसानलाई समयमै मल–बीउ उपलब्ध गराउने उनको योजना छ। स्वर्गीय नेता दीपक बोहरा का छोरा बोहराले युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु आफ्नो पहिलो दायित्व हुने उल्लेख गर्दै ‘हलो’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।