भैरहवा | आस्था समूह, रुपन्देहीको आयोजनामा भैरहवामा लागूऔषध दुरुपयोग तथा एचआईभी रोकथाम सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। कार्यक्रममा लागूऔषधको बढ्दो प्रयोगले समाज, परिवार र अर्थतन्त्रमा पारेको गम्भीर असर र यसको न्यूनीकरणका उपायहरूबारे छलफल गरिएको थियो।
कार्यक्रममा संस्थाका खेमराज हितानले लागूऔषध दुरुपयोगका सामाजिक र पारिवारिक प्रभाव तथा आस्था समूहले प्रदान गरिरहेका सेवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूका जिज्ञासाको उत्तर दिँदै कार्यक्रम अधिकृत गोपाल बन्जाडेले लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पुरातनवादी रहेको बताउनुभयो। उहाँले संक्रमित बालबालिकालाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता अत्यन्तै न्यून रहेको उल्लेख गर्दै उनीहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले संक्रमित र प्रभावित बालबालिकाहरूको सेवाका लागि आवश्यक पर्ने सामग्री र बजेट स्थानीय निकायमा समयमै माग गरेमा सम्बोधन गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय तहको बजेटमा यस्ता कार्यक्रम समावेश गर्न सरोकारवालाहरूलाई अग्रसर हुन अनुरोध गर्नुभयो।
विगत १८ वर्षदेखि रुपन्देहीमा सक्रिय आस्था समूहले हाल लुम्बिनी प्रदेशका ६ जिल्लाहरू (रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया) मा लागूऔषध दुरुपयोग रोकथाम र एचआईभी संक्रमितको मानव अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ।
बैठकमा जिल्ला प्रहरी कार्यालय, सिद्धार्थनगर नगरपालिका, टेवा समूह, साकार समूह, आशाज्योति सहयोग समूह र युएनएफएल लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।