काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सरकारी नियुक्ति र रोजगारीमा सिफारिस तथा दबाब नदिन सार्वजनिक रूपमा आग्रह गर्नुभएको छ। यस्तो प्रवृत्तिले देशमा कुशासन र भ्रष्टाचारलाई संस्थागत बनाएको उहाँको ठहर छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले कुनै पनि पद रिक्त भएको भन्दै मन्त्रीलाई ‘भनिदिनु’ भन्ने संस्कार नै गलत भएको उल्लेख गर्नुभएको छ। “फलानो ठाउँमा जागिर खाली छ, मन्त्रीज्यू भनिदिनुस् भन्ने अनुरोधले नै प्रणालीलाई कमजोर बनाएको छ,” उहाँको भनाइ छ।
मन्त्री पुनका अनुसार राजनीतिक नेतृत्वले व्यक्तिगत तथा दलगत स्वार्थ पूरा गर्न नियम–कानुन मिच्दै अयोग्य व्यक्तिलाई पदमा पु¥याउने अभ्यासले देशलाई गम्भीर संकटतर्फ धकेलेको छ। यही कारणले शासन प्रणालीप्रति नागरिकको भरोसा कमजोर हुँदै गएको र असन्तोष चरम अवस्थामा पुगेको उहाँले बताउनुभएको छ।
योग्यता, पारदर्शिता र नियमको पालना नगरेसम्म सुशासन सम्भव नहुने उल्लेख गर्दै मन्त्री पुनले सबै नागरिकलाई सिफारिसको संस्कृति त्याग्न आग्रह गर्नुभएको छ।