नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रभु बैंकको केन्द्रीय कार्यालयमा शनिबार बिहान छापा मारेको छ।
सीआईबीका एक अधिकारीका अनुसार शनिबार काठमाडौँको बिजुलीबजारस्थित बैंकको कार्यालयमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिइएको छ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। उनी एमालेका पूर्वसांसद समेत हुन्। ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बैंकमा छापा मारेको हो।
भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।
११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो । अहिले सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएको ती अधिकृतले बताए ।