भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–१ मेउडिहवामा प्रथम भैरव नक आउट फुटवल प्रतियोगिता हुदैछ । स्थानीय खेलाडीहरुलाई राष्ट्रस्तरीय खेलमा सहभागी गराउने र लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप आयोजनाका लागि आधार तयार गर्न श्री भैरव युवा क्लब तथा सिनपा वडा नम्बर १, नयाँ गाउँ, रानी गाउको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद ” भन्ने नाराका साथ मंसिर २० गतेदेखि २७ गतेसम्म पक्लिहवा माविको मैदानमा प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष याम बहादुर थापा (माइला) ले जानकारी दिए । पछिल्लो समय क्रिकेटमा युवाहरुको चासो बढेकोले यस क्षेत्रमा ओझेलमा परेको फुटबल खेललाई उजागर गर्न, नगरलाई खेलकुदमय बनाउनेका लागि प्रतियोगिता आयोजना गरेका छौ र यसलाई निरन्तरता दिदै सिरीजको रुपमा लैजाने अध्यक्ष थापाले भने ।
एन्फाको प्रविधिक सहयोगमा हुने प्रतियोगितामा रुपन्देही र नवलपरासी जिल्लाका कुल ८ वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ भने यस क्षेत्रबाट फुटबलमा योग्दान दिने ६ जनालाई सम्मान समेत गरिने क्लब सल्लाहकार सुशील गुरुङले बताए ।
प्रतियोगिताका विजेता क्लबले नगद १ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। भने उपविजेता क्लबले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सर्वोत्तम खेलाडीले नगद १० हजार, सर्वोत्तम गोल किप्परले नगद ७ हजार, सर्वोत्तम डिफेन्डर नगद ७ हजार, सर्वोत्तम मिडफिल्डर नगद ७ हजार, सर्वोत्तम स्ट्राइकर नगद ७ हजार र दैनिक उत्कृष्ट खेलाडीले नगद २५ सय प्राप्त गर्ने छ । प्रतियोगितामा बचत रकमबाट पक्लिहवा माविका जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने सल्लाहकार गुरुङले बताए ।
प्रतियोगिता आयोजना गर्न करिब १५ लाखको बजेट अनुमान गरिएकामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयबाट ५ लाख सहयोग हुने र बाकी रकम देश विदेशका शुभेच्छुक, खेलप्रेमी, उद्योगी व्यवसायी तथा टिकट विक्रीबाट प्राप्त गरिने कार्यक्रम संयोजक तेजेन्द्र गुरुङले जानकारी दिए ।
प्रतियोगितामा भैरव युवा क्लब, पक्लिहवा, अन्चलपुर युवा क्लब, सिद्धार्थनगर, लिस्नु युवा क्लव, कोटिहवा, सम्पूर्ण युवा क्लब, सुपौली, फर्साटिकर युवा क्लब, फर्साटिकर, भैरव युवा क्लब, नवलपरासी, दुट्टीपिपल युवा क्लब, टुटीपिपल, र मोन्सस्टर गाइज सुनवलको सहभगिता रहने छ ।