जाँचबुझ आयोगले गरेकाे कारबाही सिफारिस

खबर नागरिक

 पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अनौपचारिकरुपमा  सार्वजनिक भएको छ । जेनजी युवाहरुसहित चौतर्फी दबाबकाबिच  पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको थिएन । 

प्राप्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आइजीपी चन्द्र कुवेर खापुङलाई मुख्य दोषीका रुपमा कारबाही सिफारिस गरिएको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गृहमन्त्री लेखक र तत्कालीन आइजीपी चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता अनुरूप अनुसन्धान र तहकिकात गरी कारबाही गर्न सिफारिस गरेको छ । 

भदौ २३ गते जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा लापरबाहीपूर्ण र हेलचेक्र्याइँका कारणले  ज्यान गएको भन्दै अपराध संहिता अनुरूप कारबाही सिफारिस गरेको हो ।

उनीहरूलाई लापरबाहीका कारण ज्यान गएको भन्दै आयोगले अपराध संहिताको दफा १८१ अनुसार कारबाही सिफारिस गरेको हो।

यो दफा अन्तर्गत अभियुक्तलाई तीन देखि १० वर्षसम्म कैद सजाय र ३० हजार देखि एक लाखसम्म जरिवाना हुनसक्छ ।

“यी पदाधिकारीहरुकै हेलचेक्र्याइँपूर्ण काम कारबाही कारणले किशोर किशोरीहरूको समेत ज्यान मर्न मराउन गएकोमा यी पदाधिकारीहरू माथि मुलुकी अपराध संहिताको १८२(१) अनुसार कानुन बमोजिम अनुसन्धान तहकिकात गरी गराई अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ,” आयोगको प्रतिवेदनमा भनिएको छ ।

यस्तै २३ गतेको आन्दोलनमा जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गर्दै युवाहरूको ज्यान गएको भन्दै तत्कालीन सरकारी अधिकारीहरू गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुत्तराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविराज रिजाललाई मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम कारबाही लागि अभियोजन गर्न सिफारिस गरेको हो ।

“यी पदाधिकारीहरूकै हेलचेक्र्याइँ काम कारबाही कारणले किशोर किशोरीहरूको समेत ज्यान मर्न मराउन गएकोमा यी पदाधिकारी माथि मुलुकी अपराध संहिताको १८२(१) अनुसार कानुन बमोजिम अनुसन्धान तहकिकात गरी गराई अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ,” आयोगको प्रतिवेदनमा भनिएको छ ।

हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने यो दफा अनुसार दोषीलाई तीन वर्षसम्म कैद र तीस हजार सम्म जरिवाना हुने व्यवस्था छ ।

“उपदफा १ बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ,” अपराध संहिताको दफा १८२(२) मा भनिएको छ ।

यसै गरी नेपाल प्रहरीका तत्कालीन आइजीपी खापुङसहित उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यवाहक प्रमुख डीआइजी ओम राना, प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख एआइजी सिद्धिविक्रम शाह,  एसएसपी दीपशमशेर जवरा, एसपी ऋषिराम कँडेल र काठमाडौंका एसएसपी विश्व अधिकारीलाई कारबाही सिफारिस गरेको छ ।

यस्तै, सशस्त्र प्रहरीतर्फ आइजीपी राजु अर्यालसहित एआइजी नारायणदत्त पौडेल, डिआइजी कुमार श्रेष्ठ, एसपी जीवन केसीलाई कारबाही सिफारिस गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुत्तराज थापासहित उपत्यका अभियान महाशाखामा कार्यरत सह-निर्देशक कृष्णप्रसाद खनाल, काठमाडौं प्रमुखका रूपमा कार्यरत सह-अनुसन्धान निर्देशक रिबेनकुमार गच्छदार कारबाही सिफारिस भएको छ ।

प्रतिक्रिया