रुपन्देहीका सञ्चारकर्मीहरूले शनिबार एउटा असामान्य पत्रकार भेटघाट अनुभव गरे। सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत बोलाइएको कार्यक्रममा पुगेपछि आयोजकले सुरुमै ‘अफ द रेकर्ड’ मात्रै कुरा गर्ने बताए, जसले क्यामेरा र बुम बोकेर पुगेका पत्रकारहरूलाई अचम्मित बनायो। पत्रकारहरूले असहमति जनाएपछि कार्यक्रम अन्ततः ‘अन द रेकर्ड’ रूपमा अघि बढ्यो।
तिलोत्तमास्थित बोधी भिल्लामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–१ का उम्मेदवार सुनिल लम्साल पत्रकारसामु प्रस्तुत भए। आफूलाई अनुभवी र बौद्धिक उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका लम्सालले शिक्षा, स्वास्थ्य र कृषिमा सुधार गर्ने प्रतिबद्धता जनाए पनि ती योजनाहरू कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट खाका दिन सकेनन्। प्रश्नहरू तीक्ष्ण बन्दै जाँदा उनी बारम्बार आफ्नो पूर्व अनुभव दोहोर्याइरहे।
पार्टी नीति र नेतृत्वसँग सम्बन्धित संवेदनशील प्रश्न उठेपछि लम्सालले सामान्य र टालटुले जवाफ दिए। थप जिज्ञासा बढ्दै जाँदा कार्यक्रम छोट्याइयो। कार्यक्रमपछि उम्मेदवारका सल्लाहकारको टिप्पणीले पत्रकारहरू असन्तुष्ट बने र केही बेर भनाभनसमेत भयो।
अन्ततः आयोजक पक्षले वातावरण शान्त पार्ने प्रयास ग¥यो। यो घटनाले सार्वजनिक व्यक्तित्वहरूका लागि पारदर्शिता, स्पष्ट दृष्टिकोण र प्रश्नको सामना गर्ने क्षमता कति आवश्यक छ भन्ने सन्देश दिएको छ।