बुटवल । भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ स्थित सखुवानीबाट आईफोन बरामद गरेको हो।
बिहीबार राति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा–१५, सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिस अवस्थामा फेला परेको झोलामा विभिन्न मोडेलका ३१ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू झोला फ्याँकेर फरार भएका थिए । प्रहरीले बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नपाएको र कोही सम्पर्क नआएका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरिएका फोन आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। ३१ थान आईफोनको बजार मूल्य १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको उनले बताए।
प्रहरीका अनुसार आई फोन ११, १३, १५, १७, एक्सआर, एक्स लगायत मोडलका फोनहरु बरामद गरिएको छ।