राष्ट्रियसभा निर्वाचन लुम्बिनी : मुख्यमन्त्री आचार्यकाे पहिलो मत

खबर नागरिक

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान शुरू भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया शुरू भएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुरूआत गरे । लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ ।

तीन सिटका लागि आठ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार छन् ।

कांग्रेस र एमालेबीच तालमेल गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ । यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार छन् । 


कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुङ्गा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार छन् । 

नेपाली कम्युनिस्ट पार्टीले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा छन् । 

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहका मात्र उम्मेदवार छन् । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका-२ का बोमबहादुर खत्री चुनावी मैदानमा छन । 


हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित भएका थिए । 

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेकाले आज १७ पदका लागि चुनाव हुँदैछ । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । यसका लागि तयारी पूरा भएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । केही प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिई आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भागबन्डा गरेर नेपाली कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा कांग्रेस र एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।

भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

रिक्तमध्ये लुम्बिनी प्रदेशबाट महिला एक, अपांगता भएकातर्फ एक र अन्य एरक गरी ३ पदका लागि चुनाव हुँदैछ ।  नेपाली कांग्रेस र नेकपा एमालेको तालमेल अनुसार कांग्रेसका दुई जना र एमालेबाट १ जना उम्मेदवार मैदानमा छन् । कांग्रेसले दाङका पुराना नेता बासुदेव घिमिरे जंगली लाई अपांग कोटाबाट उम्मेदवार बनाएको छ ।

गुल्मीका कांग्रेस नेता चन्द्रबहादुर केसीलाई खुलामा उम्मेदवार बनाइएको छ । एमालेले रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएको छ । उनलाई महिला कोटामा उम्मेदवार बनाइएको हो । 

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी पनि उम्मेदवारी दिएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट सर्जक परियार अपांग, बृहस्पति अधिकारी अन्य र दुर्गा भण्डारी महिला उम्मेदवार रहेका छन् ।

लुम्बिनी प्रदेशका १०९ पालिकाका २१८ र लुम्बिनी प्रदेशका ८७ प्रदेशसभा सदस्य गरी ३०५ जम्मा मतदाता रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न चार प्रदेशसभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेपछि हाल २९९ मतदाता कायम भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । 

प्रतिक्रिया