सातौं लुम्बिनी महोत्सव सकियो, १२ करोड रुपैयाँ बराबरको कारोबार

खबर नागरिक

भैरहवा । रुपन्देहीको भैरहवामा आयोजित सातौं लुम्बिनी महोत्सव सकिएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग ब्यापार संगठन)को आयोजनामा संचालित महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, महोत्सव १ लाख २० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।

महोत्सव मंसिर ३ गतेदेखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा चलेको थियो ।

महोत्सव समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले यस्ता महोत्सवले आर्थिक क्षेत्रलाई गति दिन योगदान गर्ने बताए । ‘यहाँहरुले ठूलो मिहिनतले यो महोत्सव सम्पन्न गर्नुभयो’, उनले भने, ‘पक्कै पनि यसले बजारमा नयाँ उर्जा थपेको छ ।’

कार्यक्रममा लुम्बिनी सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटनको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने जनाए । 

१८ दिनसम्म चलेको महोत्सवमा ३ सय वटा स्टल थिए । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए ।

यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्था लगायतको प्रबद्र्धन गरिएको थियो । स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं भन्ने मूल नाराका साथ आयोजित महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुंगा सावित भएको आयोजकको दावी छ ।

प्रतिक्रिया