होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको १५ बुँदे कार्ययोजना सार्वजनिक

खबर नागरिक

भैरहवा, माघ १९ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले आगामी कार्यकालका लागि १५ बुँदे कार्ययोजना तय गरेको छ। संगठनको १२औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले नवलपरासीको त्रिवेणी धामस्थित होटल ग्राण्ड त्रिवेणीमा आयोजना गरेको कार्यशाला गोष्ठीबाट कार्ययोजना सार्वजनिक गरिएको हो।

संगठनका अध्यक्ष राजेश महोत्राका अनुसार गोष्ठीले वार्षिक कार्यक्रम तय गर्नुका साथै विभिन्न उपसमितिहरु गठन र संयोजकसमेत तोकेको छ। कार्ययोजनाको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन, व्यवसायिक एकता र सेवा स्तरोन्नति रहेको उहाँले बताउनुभयो।

कार्ययोजनाअनुसार रुपन्देहीमा महाधिवेशन, सम्मेलन तथा सभा आयोजना गर्न चाहने देशभरका संघ–संस्थालाई सहुलियत दरमा होटल सुविधा उपलब्ध गराइनेछ। यसका लागि स्थानीय तह, निजी क्षेत्र र विभिन्न संघसंस्थासँग समन्वय गरिनेछ। साथै भैरहवा विमानस्थल, बेलहिया नाका लगायतका स्थानमा पर्यटकीय जानकारीमूलक होर्डिङ बोर्ड राख्ने र सौन्दर्यीकरणमा सहभागिता जनाइनेछ।

विभिन्न पर्यटकीय गन्तव्य समेटेर होटल प्याकेज तयार गरी प्रचारप्रसार गर्ने, सिद्धार्थ सडक खाना महोत्सव दुई दिनसम्म भव्य रूपमा आयोजना गर्ने योजना पनि कार्ययोजनामा समावेश छ। नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश पर्यटन विकास परिषदसँग सहकार्य गरी तालिम, गोष्ठी तथा भ्रमण कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी होटल, क्याफे तथा क्याटरिङ व्यवसाय समन्वय उपसमिति र रात्रीकालीन व्यवसाय उपसमिति गठन गरिएको छ। तारे होटल वर्गीकरण, रैथाने खाना प्रवर्द्धन, उत्कृष्ट व्यवसायी पुरस्कृत गर्ने, गेष्ट ट्र्याकिङ सफ्टवेयर विकास गर्ने र पर्यटक समस्यामा सहजीकरण गर्ने कार्यक्रम पनि कार्ययोजनामा उल्लेख गरिएको छ।

संगठनले व्यवसायी भ्रमण, अन्तरक्रिया, चाडपर्वमा शुभकामना आदानप्रदान तथा भविष्यमा संगठनका लागि जग्गा खरीद गर्ने योजना समेत अघि सारेको छ।

प्रतिक्रिया