नापी कार्यालय भैरहवाबाट दुई बिचौलिया पक्राउ

खबर नागरिक

भैरहवा । नापी कार्यालय भैरहवाको परिसरबाट प्रहरीले सेवाग्राहीसँग रकम असुल्ने दुई जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गराइदिने बहानामा अतिरिक्त शुल्क लिइरहेको अवस्थामा उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका-३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् । उनीहरूले नापी कार्यालयमा आउने सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई गैरकानुनी रूपमा रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका दुवै जनामाथि बिचौलिया गतिविधिमा संलग्न भएको आरोपमा थप अनुसन्धान भइरहेको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको हस्तक्षेप बढ्दै गएपछि प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ ।

प्रतिक्रिया