भैरहवा— सामूहिक विद्यालय परिवारद्वारा भैरहवामा सञ्चालन भइरहेको ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अन्तर्गत मंगलबार छात्र तथा छात्रा दुवै समुहका भलिबल खेलहरू सम्पन्न भएका छन्।
नेपाल नालन्दा आवासीय उच्च माध्यमिक विद्यालयको खेलमैदानमा जारी भलिबल प्रतियोगितामा छात्रतर्फ पहिलो खेलमै युनिभर्सल इङ्लिस बोर्डिङ स्कूलले दमदार प्रदर्शन गर्दै लर्ड बुद्ध स्कुल लाई स्ट्रेट सेट २–० ले पराजित गर्यो।
त्यसपछि भएको खेलमा स्प्यान्गल स्कुल ले एभरेस्ट स्कुल विरुद्ध उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै २–० कै जित हात पार्यो। तेस्रो भिडन्तमा मनकामना स्कुल ले नमुना स्कुलसँग कडा प्रतिस्पर्धा सकेर २–१ सेटमा विजय दर्ता गर्यो।
यस्तै, मिनर्वा स्कुल ले सञ्जीवनी स्कुल लाई सोझो २–० ले पराजित गरेपछि अर्को खेलमा न्यू इरा स्कुल ले पनि आदर्श स्कुललाई सेट नहारी २–० मा हराउँदै सहज जित हासिल गर्यो।
छात्रातर्फको प्रतियोगितामा भने सुरुवाती खेलमै आदर्श स्कुल ले सीबी पब्लिक स्कुल विरुद्ध २–० सेटको जित निकाल्दै प्रभावशाली सुरुआत गर्यो। दोस्रो खेलमा मिनर्वा स्कुल ले नालन्दा स्कुल लाई उस्तै अन्तरको सोझो सेटमा पराजित गरेको थियो।
त्यसपछि आएर भएको रोमाञ्चक खेलमा न्यू इरा स्कुल ले लर्ड बुद्ध स्कुल लाई कठिन सङ्घर्षपछि २–१ ले हरायो। अर्को खेलमा युनिभर्सल स्कुल ले फ्युचर लाइट स्कुल लाई २–० ले पाखा लगायो भने सञ्जीवनी स्कुल ले नमुना स्कुललाई उस्तै अन्तरमा हराउँदै आफ्नो जित सुनिश्चित गर्यो ।
आयोजकका अनुसार भलिबलतर्फको फाइनल खेल बुधबार सम्पन्न हुने जानकारी दिइएको छ।