तिलोत्तमा । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले दीगो वन ब्यवस्थापनको कार्ययोजना सम्बन्धि अन्तरक्रिया गरेको छ । समूहले एफ एफ एफ (कृषि वन सुदृढिकरण)परियोजना अन्तर्गत एफ ए ओ (कृषि वन सहज कार्यक्रम) को सहयोगमा समूहको कार्यसमिति, सल्लाहाकार तथा सरोकारवालाहरुको सहभागितामा मंगलबार अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा समूहका अध्यक्ष रबिन्दं्र बस्नेतले बन सम्वर्धन प्रणालीमा आधारित दीगो वन ब्यवस्थापन कार्ययोजना उपभोक्ताको आवश्यक्ता, संघ तथा प्रदेश सरकारको परिवर्तित नीति र समयअनुकल परिमार्जन गर्नुपर्ने भएकाले आवश्यक सुझाव संकलनका लागि सम्वन्धित सरोकारवालाहरुलाई सहभागि गराएर अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।
समूहका उपाध्यक्ष कमला ज्ञवालीले शंकरनगर सामुदायिक वनले दीगो वन ब्यवस्थापन कार्ययोजना अन्तर्गत वनको विकास, सदुपयोग र सवद्र्धन गर्दै आईरहेपनि कार्ययोजनालाई अन्तिम रुप दिई डिभिजन वन कार्यालयबाट स्वीकृति लिनका लागि सबै पक्षको सुझाव संकलनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
द्यातृ निकाय एफ ए ओ कृषि वन सहज कार्यक्रमका संयोजक उमेश पौडेलले सामुदायिक वनले संचालन गर्दै आईरहेको कृषि वन नर्सरीलाई कार्ययोजनामा समेटेर कृषि वन नर्सरीको सुदृढिकरण गर्दै दीगो वन ब्यवस्थापनका लागि कृषि वन सुदृढिकरण परियोजनाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउंदै आएको जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रमका सहजकर्ता वरिष्ठ वन अधिकृत सूर्य प्रसाद मैनालीले दीगो वन ब्यवस्थापन कार्ययोजना अन्तर्गत बुढा वा उमेर पुगेका रुखहरु कटान गर्ने, कटान गरिएका ठाउँमा बृक्षरोपण गर्ने र रोपेर उम्रिएका विरुवाहरुलाई हुर्काउने प्रक्रिया नै वन सम्वद्र्धन प्रणाली हो भने । उहांले यो प्रक्रिया अवलम्बन गर्दा उपभोक्ताको आवश्यक्ता पनि पुरा हुने, वनको संरक्षण हुने र वन पनि सदा हराभरा हुने बताए ।
सामुदायिक वनका सचिव कालिका अधिकारीले संचालन गरेको कार्यक्रममा समूहका वरिष्ठ सल्लाहाकार टेकबहादुर थापा, टिकानिधि गौतम, सल्लाहाकार राम गिरी, मोहन चापागाई, कानुनी सल्लाहाकार खुमाकान्त पौडेल लगायतले कार्ययोजनालाई समयअनुकूल परिमार्जन गर्दै सहज र सरल वनाउनु पर्ने, वन क्षेत्र भित्र साइकिलिङ र पैदल मार्ग निर्माण, मृत्यु संस्कार र बृद्धबृद्धाहरुका लागि वन क्षेत्रमा जग्गाको ब्यवस्थापन, मौर्यकालिन ऐतिहासिक कुवाको संरक्षण, जंगली जनावरले जंगल सिमाक्षेत्रका उपभोक्ताको वालिमा क्षति पुर्याएकाले त्यसको संरक्षण, चोरी निकासी नियन्त्रण लगायतका विषय कार्ययोजनामा समेट्न सुझाव राखे।
५८४.६० हेक्टरमा फैलिएको शँकरनगर सामुदायिक वनले वन क्षेत्रलाई ११ड.४२ हेक्टर रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११ण्.१९ हेक्टरलाई बृक्षेरोपण खण्डमा विभाजन गरी वनको विकास र संम्वद्र्धन गर्दै आईरहेको वनका कोषध्यक्ष भुवन आचार्यले जानकारी गराए ।
सामुदायिक वनले यसका अलावा वनको विकास र संवद्र्धनका लागि सम्वन्धित सरोकारवालासंग गोष्ठि, नर्सरी तालिम, संस्थागत संरचना सुदृडिकरण, जलवायु परिवर्तन, आगलागि नियन्त्रण, दीगो वन ब्यवस्थापन लगायतका कार्यक्रम समेत संचालन गर्दै आईरहेको छ ।