निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउने उद्देश्यले ‘निर्वाचन आचारसंहिता-२०८२’ को मस्यौदा तयार गरेको छ । आयोगले उक्त मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग आवश्यक सल्लाह तथा सुझावको आह्वान गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले नयाँ आचारसंहिताको प्रस्ताव अघि सारेको हो । यो नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको ‘निर्वाचन आचारसंहिता-२०७९’ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।
प्रस्तावित मस्यौदामा १० परिच्छेद र ५ वटा अनुसूचीहरू समावेश गरिएको छ । आयोगले यसपटक आचारसंहितामा केही कडा र नवीन प्रावधानहरू समेट्ने प्रयास गरेको छ । जसअनुसार, आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम अब आयोगले सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । यसले निर्वाचन प्रक्रियामा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ ।
यसैगरी, मस्यौदामा विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने तथा उम्मेदवार वा दलले निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने जस्ता विषयहरूलाई प्राथमिकताका साथ उठाइएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी र स्वतन्त्र बनाउन सबै पक्षको रचनात्मक सुझावको अपेक्षा गरिएको आयोगले जनाएको छ ।