बर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने

माेहम्मद हबिब

भैरहवा । सिद्धार्थनगर रुपन्देहीको पुरानो नगरपालिका मध्ये एक हो, यहाँ दैनिकरुपमा ३० टन बढी फोहोर उत्सर्जन हुने गरेको छ । स्थानीय सरकार आएको पहिलैदेखि नै यहाको लागि फोहोरमैला व्यवस्थापन चुनौतीकै रुपमा रहेकोमा अहिले सम्म दीर्घकालिन समाधान हुन सकेको छैन । विभिन्न समयमा विभिन्न प्रयासहरु भएपनि नगरपालिकाले ठोस योजना ल्याउन सकेको थिएन ।

नगरपालिकाले वर्षौ देखि फोहोर डण्डा नदी किनारमै व्यवस्थापन गरिरहेको छ । जसका लागि सिद्धार्थनगर नगरपालिका कार्यपालिका बैठकले नगरको दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि निर्णय गरी आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर संकलन नगर्ने घोषणा गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चैत १७ गतेभित्रै सबै नगरबासी, व्यवसायी तथा संघसंस्थाहरूलाई फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

नगर कार्यपालिकाको निर्णयअनुसार आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर बोक्ने गाडीले नउठाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । 

नगरपालिकाले फोहोरलाई मुख्यतया तीन समूहमा विभाजन गर्न निर्देशन दिएको छ । भान्साबाट निस्कने अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, पातपतिङ्गर, घाँस, चिया तथा कफीका अवशेष लगायतका कुहिने जैविक फोहोर एक ठाउमा । यस्तै प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री तथा विद्युतीय सामानका अवशेष जस्ता नकुहिने अजैविक फोहोर एक ठाउमा र सिसा, काँच, धातु र टिन लगायतका सडेर नजाने कवाडजन्य फोहोर एक ठाउमा बर्गीकरण गर्न अनुरोध गरेको हो ।

नगरपालिकाको सूचनालाई बेवास्ता गरी फोहोर वर्गीकरण नगर्ने घरधनी वा निकायले आफ्नो फोहोरको व्यवस्थापन आफैँ गर्नुपर्नेछ । यदि कसैले जथाभावी सडक पेटी वा सार्वजनिक स्थलमा फोहोर फालेको पाइएमा न्यूनतम ५ हजार रुपैयाँदेखि फोहोरको प्रकृति अनुसार थप जरिवाना गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

नगरलाई स्वच्छ र सुन्दर राख्न यो कदम चालिएको हो । होटल, पसल, निजी घर, विद्यालय र संघसंस्थाहरूले अनिवार्य रूपमा फोहोर वर्गीकरण गरेर नगरपालिकाको अभियानमा सहयोग पु¥याउनुहुन नगरपालिकाले अनुरोध गरेको छ । 

सिद्धार्थनगर नगरपलिका क्षेत्रको फोहोर अहिले बेलहिया बुटवल सडक खण्डको नजिकै फालिदै आएको छ । नगरको फोहोर व्यवस्थापन वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरेसँगै गत वर्ष २०८१ साउन ४ गतेबाट केही समयको लागि भन्दै सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ क्षेत्र बन्यो । तर यहाँ भने फोहोर फाल्न लागेको २ वर्ष बित्दा समेत नगरपलिकाले फोहोर व्यवस्थापन का लागि दीर्घकालिन उपाय ननिकालेकोले अन्यत्र गर्न सकेको छैन ।

दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गरी यहाँ व्यवस्थापन गर्दै आएको छ । 

नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टर मार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । । डम्पिङ क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरिएको छ ।

हालको व्यवस्था अनुुसार ती फोहोरलाई बर्गीकरण गरी कुहिने फोहोर उचित ठाउमा व्यवस्थित तरिकाले व्यवस्थापन गरी मलको रुपमा पनि प्रयोग गर्न सकिने गरि योजना बनाएको छ  भने नकुहिने बस्तुलाई पुनप्रयोगको अवधारणामा लैजाने योजना अनुरुप नगरपालिका लागेको छ । 

यसरी फोहोर वर्गीकरण गर्दा फोहोरको परिमाण पनि घट्ने अपेक्षा नगरपालिकाको रहेको छ । 



प्रतिक्रिया