भैरहवा, माघ १९ । भैरहवा, माघ १९ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक जनक बहादुर शाहीले उद्योगी–व्यवसायीको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको प्रमुख दायित्व भएको स्पष्ट परेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीसँगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रहरीले कुनै सम्झौता नगर्ने बताए ।
प्रहरी उपरिक्षक शाहीले उद्योगी–व्यवसायीले उठाएका सुरक्षा, तस्करी, धम्की र अवैध गतिविधिसम्बन्धी विषयप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने दृढता व्यक्त गरे । “उद्योगी–व्यवसायीलाई धम्की दिने, असुरक्षा सिर्जना गर्ने वा गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कुनै हालतमा छुट दिइँदैन,” उनले भने, “जिल्ला प्रहरी कार्यालय रुपन्देही शान्ति–सुरक्षामा कडाइका साथ अघि बढिरहेको छ।”
खुला सिमानाका कारण देखिएका तस्करी, लागूऔषध कारोबार र आपराधिक गतिविधिप्रति विशेष निगरानी बढाइएको जानकारी दिँदै प्रहरी उपरिक्षक शाहीले बजार क्षेत्र, उद्योग क्षेत्र र संवेदनशील स्थानमा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइने बताए ।
उद्योगी–व्यवसायी र प्रहरीबीच नियमित संवाद, सूचना आदान–प्रदान र सहकार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको उल्लेख गर्दै उनले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय देशभर परिचालन भइसकेको जनाए । “निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन्छ,” उनले भने, “उद्योगी–व्यवसायी र आम नागरिक निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहुन्छ।”
छलफलको क्रममा प्रहरी उपरिक्षक शाहीले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रहरी र उद्योग वाणिज्य संघबीच निरन्तर समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।