आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी प्रहरीले जिल्लाको जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप सक्रिय र प्रभावकारी बनाएको छ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रुपन्देही प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न योजना अघि बढाएको छ ।
निर्वाचनको समय नजिकिँदै गर्दा नेपाल–भारत खुला सिमाना जोडिएको क्षेत्रमा साना हातहतियारको दुुरुपयोग हुुन सक्ने उल्लेख गर्दै प्रहरीले त्यसतर्फ विशेष सजगता अपनाइ अपरेसन सुरु गरेको हो । सीमावर्ती क्षेत्रमा साना हतियारको खतरालाई नियन्त्रण गर्न प्रहरीले अन्य समयमा जस्तै निर्वाचनलाई समेत केन्द्रित गरेर विशेष योजनासहित हतियार खोजी सुरु गरेको हो ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले मतदान केन्द्रहरुमा अहिलेदेखि नै गस्ती, पेट्रोलिङ बढाएको बताउनुभयो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार ४० जना कैदीबन्दीलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
हतियार खोजी अभियानका क्रममा गत महिना मात्र रुपन्देही प्रहरीको विशेष टोलिले दुई थान कटुवा पेस्तोल, दुई थान केएफ, स्पेशल लङ्गरेन्ज कार्टिज दुई थान, पाँच थान गोली, एक थान खुुकरी बरामद गरेको छ । हतियारसहित प्रहरीले भारत सिद्धार्थनगर ढिहवाका रमजान खान र सन्जय पासीलाई रुपन्देहीको गैडहवाबाट पक्राउ गरेको हो ।
प्रहरीले नक्कली सुुन बैंकमा धितो राखी ठगेको अभियोगमा नौ जनालाई पक्राउ गरेको छ । गोर्खा फाइनान्स लिमिटेड पडसरी शाखामा नक्कली सुन धितो राखेर ठगी गरेको अभियोगमा सिद्धार्थनगर वडा नम्बर ८ का आदित्य राना, राजुु राना, तिलोत्तमा–८ बस्ने भूमिसरा सुुनार, चन्द्रबहादुर सुुनार, तिलोत्तमा ६ बस्ने गायत्री पान्डे मगर, विकास थापा, प्रकाश भट्टाराई, तिलोत्तमा ५ का मनीष आचार्य र तिलोत्तमा १४ का अनिल विकलाई पक्राउ गरेको हो ।
यस्तै अनुुशासन र आचरणविपरीत काम गरेका जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी अनुशासनको कारबाहीमा परेका छन् । यसरी अनुशासनको कारबाहीमा जिल्लाका विभिन्न प्रहरी एकाइहरुमा जिम्मेवारीमा रहेका प्रहरी अधिकृतदेखि कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरी अनुशासन र आचरणविरुद्ध काम गर्ने प्रहरीहरु जिल्ला प्रहरी कार्यालयको कारबाहीमा पर्न थालेपछि प्रहरीहरुमा अनुशासनविरुद्ध काम गर्ने कार्यमा नियन्त्रण आएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक क्षेत्री बताउनुहुन्छ । उक्त अभियोगमा प्रहरीले एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगीलाई निलम्बन गरेको छ । साथै दुई जना प्रहरी हवल्दार र एक जना जवानको बढुवा रोक्का गरिएको छ । यसैगरी दुई जना प्रहरी हवल्दार र पाँच जना जवानको तलब वृद्धि घटुुवा भएको छ ।
रुपन्देही प्रहरीमा दुई जना प्रहरी सहायक निरीक्षक, चार जना वरिष्ठ प्रहरी हवल्दार, तीन जना हवल्दार, एक जना सहायक हवल्दार र पाँच जना जवानलाई नसिहत दिएको र एकजना प्रहरी निरीक्षकलाई सहित दुई जना प्रहरी सहायक निरीक्षक, तीन जना प्रहरी हवल्दार र पाँच जना प्रहरी सहायक हवल्दारलाई सचेत गराइएको छ । साथै एक जना प्रहरी हवल्दार, एक जना जवान र एक जना कार्यलय सहयोगीलाई सेवाबाट हटाउनेसमेत काम भएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहत इलाका प्रहरी कार्यालय, बुटवल इलाका प्रहरी कार्यालय बेलहिया, सालझण्डी, इलाका प्रहरी कार्यालय लुम्बिनी, मर्चवार जस्ता महत्वपूर्ण प्रहरी एकाइ रहेका छन् । यस्तै भैरहवा, बुटवल जस्ता मुख्य सहरी क्षेत्रमा ‘क’ वर्गका वडा प्रहरी कार्यालय महत्वपूर्ण मानिन्छन् ।