भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ४३ अर्ब ६६ करोड ९० लाख राजस्व संकलन गरेको छ ।
यो आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा २ प्रतिशत बढि राजश्व संकलन गरेको भन्सारले पछिल्लो महिनामा राजश्व संकलन लक्ष्य अनुरुप गर्न सकेको छैन । ४ वर्ष देखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले भने २०८२–८३ को पहिलो महिनामा पाएको ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्यमा ९ अर्ब २ करोड ७२ लाख अर्थात १सय २ प्रतिशत राजश्व संकलन गरेको थियो । कार्यालयले मंसिर सम्ममा पाएको लक्ष्य ४६ अर्ब ७६ करोड २६ लाख मध्ये ९३ दशमलव ३८ प्रतिशत राजश्व संकलन भएको हो ।
कार्यालयले यस आर्थिक वर्षको भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार मध्ये ९७ दशमलव २५ प्रतिशत अर्थात ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार राजश्व संकलन गरेको थियो । असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार लक्ष्य पाएकोमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार अर्थात ९२ दशमलव ७१ हजार राजश्व संकलन गरेको थियो । कार्तिकमा ९ अर्ब ६० करोड २६ लाख ४० हजार लक्ष्य पाएकोमा ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यस्तै मंसिरमा ८ अर्ब ५८ करोड ७७ लाख २० हजार पाएको लक्ष्य मध्ये ८ अर्ब १ करोड ४५ लाख ५९ हजार अर्थात ९३ दशमलव ३३ प्रतिशत राजश्व संकलन गरेको छ ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१÷८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात ८७ दशमलव ०७ प्रतिशत राजस्व संकलन गरेको थियो । राजश्व लक्ष्य पुरा नभएपनि यो वर्षको लागि एक खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार राजस्व संक्लन लक्ष्य दिएको छ । वार्षिक लक्ष्यको आधारमा अहिलेसम्मको संकलनले ३८ दशमलव ४२ प्रतिशत योगदान गरेको छ ।
राजश्व लक्ष्य योगदान गर्नेमा पैठारी तर्फ सबै भन्दा बढि मोटरसाइकल, जीप कार भ्यान, पेट्रोल, गाडी, स्पोन्ज र फेरस आइरन, सुपारी, एलपी ग्यास, अलकत्रा एम एस विलेट लगायतका बस्तु रहेका छन ।