भैरहवा । प्रत्यक्ष तर्फ रास्वपाले क्लीन स्वीप गरेको रुपन्देहीमा समानुपातिक तर्फ पनि प्रत्यक्ष भन्दा बढि मत प्राप्त गरेको छ ।
६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा ६५ दशमलव ४२ प्रतिशत अर्थात ४ लाख ३९ हजार ९ सय ७६ जनाले मतदान गरेका थिए ।
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको प्रत्यक्ष तर्फ सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जित निकालेको हो । जिल्लाको प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना अनुुुसार रास्वपा एक्लैले २ लाख ४२ हजार ४ सय २ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ । जुन प्रत्यक्ष भन्दा ५ हजार ३ सय २१ मत बढि हो । यो हालसम्म गणना भएको कुल मतको ५५ प्रतिशत हो । प्रत्यक्ष तर्फ रास्वपाले ५ वटै क्षेत्रबाट २ लाख ३७ हजार ८१ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५१ हजार ९४९ मत अर्थात ११ दशमलव ८ प्रतिशत मत पाएको छ । अघिल्लो निर्वाचन २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिले ५१ हजार ५९६ मत अर्थात ११ दशमलव ७ प्रतिशत मत सहित तेस्रो स्थानमा खुम्चिएको छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात ६ दशमलव ४ प्रतिशत मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ११ हजार ३४८ मत अर्थात २ दशमलव ५ प्रतिशत मत पाएको छ । यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले ८ हजार ३५६ मत, जनमत पार्टीले ७ हजार २६३ मत, जसपा नेपालले ६ हजार २६३ मत, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५५ मत ल्याएको छ । समानुपातिकतर्फको मतपरिणाम हेर्दा अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेका दलहरूको अवस्था यसपटक दयनीय देखिएको छ ।
देशकै पहिलो दल रास्वपा
प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशव्यापी रूपमा अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार समानुपातिकतर्फ जम्मा १ कराेड ४ लाख ४० हजार ४०४ मत गणना हुँदा रास्वपा एक्लैले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ । प्रारम्भिक मतपरिणाम हेर्दा यसपटक संसद्मा ३ प्रतिशत मत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने पार्टीको संख्या ६ वटा हुने देखिएको छ ।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार रास्वपाले ५० लाख १३ हजार १८९ मत पाएर पहिलो स्थान बनाएको छ । यो हालसम्म गणना भएको कुल मतको ४८ प्रतिशतभन्दा बढी हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९४ हजार ७८२ मत अर्थात १६ प्रतिशत मत पाएको छ । अघिल्लो निर्वाचन २०७९ मा २८ लाख मतसहित समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिले १४ लाख १२ हजार ८८४ मत अर्थात १३ प्रतिशत मत सहित तेस्रो स्थानमा खुम्चिएको छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६८ हजार ८ मत अर्थात ७ प्रतिशत मत पाएको छ । पाचौ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६७ मत अर्थात ३ प्रतिशत मत पाएको छ । छैठो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख २५ हजार ३४४ मत अर्थात ३ प्रतिशत मत पाएको छ । यी ६ वटै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको छ । यसपटक ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बढेको हो ।
अन्य दलहरूतर्फ जसपा नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, ले १ लाख कटाएपनि थ्रेसहोल्ड कटाउन सकेका छैनन । समानुपातिकतर्फको प्रारम्भिक मतपरिणाम हेर्दा अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका मधेश केन्द्रित र क्षेत्रीय दलहरूको अवस्था यसपटक दयनीय देखिएको छ ।
गत निर्वाचनमा राष्ट्रिय दल बनेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीलाई यसपटक ३ प्रतिशत मत कटाएर राष्ट्रिय दल बन्न निकै कठिन हुने देखिएको छ ।
देशैभरको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । तथ्याङ अनुसार प्रत्यक्ष तर्फ रास्वपा १२५ स्थानमा जित निकालेको छ । कांग्रेसको १८ मा जित, एमालेको ९ स्थानामा जित, नेकपाको ७ स्थानमा जित, श्रम संस्कृतिको ३ स्थानमा जित, राप्रपाको १ स्थान र स्वतन्त्रमा महाविर पुनले जित निकालेका छन ।