रुपन्देहीको मर्चवार क्षेत्रका मतदान केन्द्रको अनुगमन

खबर नागरिक

भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरूको अनुगमन गरिएको छ ।  सम्मरीमाई र मर्चवारीमाई गाउँपालिका मतदानस्थलहरुको अनुगमन गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

मतदानस्थल र मतदान केन्द्रको स्थिति, अवस्थिति, त्यसको केन्द्र र त्यहाँ कसरी व्यवस्थित तरिकाले मतदान सम्पन्न गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले बिहीबार अनुगमन गरिएको हाे। त्यसमा केही सुधार गर्नुपर्ने भए सुधार पनि गर्न सकिने  छ ।

‘फागुन २१ मा घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा जिल्लाका विभिन्न मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गर्ने, त्यहाँ केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्न लगाउने, निर्वाचनको वातावरण तयार गर्ने र जिल्लामा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउनको लागि जिल्ला सुरक्षा समितिका सबै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले अनुगमन गरेको हो, ’उनले भने ।

जिल्ला निर्वाचन कार्यालय, स्थानीय तह र सम्बन्धित विद्यालयसँग समेत समन्वय गरेर व्यवस्थित गर्ने उद्देश्यले नै अनुगमन कार्यक्रम गरिएको उनले जानकारी दिए । यसलाई अभियानको रुपमा जिल्लाभरी लैजाने आचार्यको भनाइ छ । ‘यो भन्दा हामीले अगाडि तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानमा अनुगमन गरिसकेका छौं । आगामी दिनमा यस्तै योजना बनाएर जिल्लाका अन्य पालिकाहरु, महत्वपूर्ण ठाउँहरु र अलिकति संवेदनशील मतदानस्थलहरुको निरीक्षण गर्नेछौं,’उनले भने।

प्रतिक्रिया