भैरहवा। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार एजेण्टले अघि सारेका मागहरू उचित र समाधानकाे आवश्यकतामा रहेको जनाएको छ। नेपाल भन्सार एजेण्ट संघ, सिद्धार्थनगर रुपन्देहीले व्यापारिक समुदायका समस्या उजागर गर्न आयोजना गरेको कलम बन्द कार्यक्रमप्रति आफूहरू ऐक्यबद्ध रहेको संघले जनाएको हो।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स–साना त्रुटिलाई आधार बनाएर उच्च जरिवाना लगाइने तथा भन्सार प्रक्रियामा अनावश्यक ढिलाइ हुने अवस्थाको तुरुन्त सुधार हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार साना गल्तीहरू सरकारी संयन्त्रले स्वतः व्यवस्थापन गर्न सके व्यापार सहजीकरण सहज बन्थ्यो र आयातकर्तादेखि एजेण्टसम्म सबैको समय तथा लागत बचत हुने थियो।
हाल देशका केही भन्सार कार्यालयमा प्राविधिक समस्या, सेवा प्रवाहमा ढिलाइ तथा डिजिटल प्रणालीमा देखिएको अस्थिरताले दैनिक भन्सार कार्यमा ठूलो प्रभाव पारेको संघको भनाइ छ। विज्ञप्तिमा उल्लेख गरिएकै अनुसार, यस्ता समस्या दोहोरिनु आयात–निर्यात प्रक्रियालाई जटिल बनाउने, व्यवसायीको समय र खर्च बढाउने तथा समग्र व्यापारिक वातावरणलाई अस्थिर बनाउने कारक बनेका छन्।
सरकारले उदार अर्थनीति अपनाइरहेको अवस्थामा कठोर भन्सार नीतिहरूले विकास र व्यापार विस्तारमा बाधा पुर्याउने सिद्धार्थ उद्योग वाणिज्य संघको बुझाइ रहेको अध्यक्ष आचार्यले बताए। “केवल दण्ड–जरिवाना थोपरेर व्यापारिक वृद्धि सम्भव छैन, त्यसैले सम्बन्धित सबै निकायले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्छ,” विज्ञप्तिमा उद्धृत उहाँको भनाइ छ।