प्याब्सन सिद्धार्थनगरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सनशाइन प्रथम

खबर नागरिक

भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा “त्यागको सम्मान र समृद्ध नेपाल निर्माण” विषयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। 

उक्त प्रतियोगितामा सनसाइन इंग्लिस बोर्डिङ स्कुलकी विद्यार्थी अर्पना गौतम प्रथम स्थान हासिल गर्न सफल भइन् भने काशी नोबल एकेडेमीकी सुदिक्षा अधिकारी दोस्रो र सिद्धार्थ ज्ञान ज्योतिका मानसेन कान्दु तृतीय स्थानमा रहे। मुनलाइट आवश्यक माध्यमिक विद्यालयकी सारुप्या सेढाईले सान्त्वना प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा ६ का वडा अध्यक्ष वीरेन्द्र श्रीवास्तवले सानै उमेरदेखि विद्यार्थीहरूमा देशप्रेम, त्याग र राष्ट्रप्रति जिम्मेवारीको भावना विकास गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले उनीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा नेतृत्व सीप विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

यसैगरी, कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, त्यागको कदर तथा समृद्ध नेपाल निर्माणप्रति चेतना र प्रेरणा जागरुक गराउने उद्देश्यले यस्ता वक्तृत्व प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रमका संयोजक तथा मुनलाइट आवश्यक माध्यमिक विद्यालयका प्राचार्य टिकाराम भट्टराईले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले वक्तृत्व प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास र सकारात्मक सोचको विकासमा उल्लेखनीय भूमिका खेल्ने उहाँको विश्वास थियो।

प्रतियोगितामा आठ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थिया भने प्रतियोगिताका निर्णयकमा द्वय राम कुमार केवट र अवधेश लोध रहनु हुन्थ्यो ।

उक्त कार्यक्रम मुनलाइट आवश्यक माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।


प्रतिक्रिया